२६ साउन, काठमाण्डौ ।
काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षा हुने क्रम रोकिएको छैन । वर्षायाममा वर्षा त हुने नै भयो साथै यस वर्ष साधारण भन्दा बढी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुको पूर्वानुमान छ ।
त्यसैले पनि सरकारले सावधानीका साथ रहन बारम्बार आग्रह गरिरहेको छ । नेपालमा गत जेठ २८ गतेदेखि मनसुन भित्रिएको थियो ।
जसकारण विगतको तुलनामा यस वर्ष अत्याधिक वर्षा भइरहेको छ भने विपद्जन्य घटनाका कारण धेरै मानवीय र भौतिक क्षति पनि व्यहोर्नु परिरहेको छ ।
अझै असोजसम्म अत्याधिक वर्षा हुने पूर्वानुमान छ । काठमाडौंमा केही दिन अघिसम्म परेको पानीले वागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरुमा ठूलो बाढी आयो ।
बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरुमा बाढी नै पस्यो ।
जसले नदी किनार छेउका बस्तीहरु डुबानमा परे । अझै पनि सो बस्तीहरुमा पसेको बाढी, हिलो सफा गरिसकेको अवस्था छैन ।
बस्तीमा बाढी मात्रै पसेन, आसपासका क्षेत्र र बगरमा उपत्यकाका विभिन्न स्थानमा फालिएका फोहोरहरु बगाएर कतै थुपारिदिएको छ त नदीले कतै बगाएर लगेको छ ।
अहिले नदी किनारमा उपत्यकावासीले गरेको÷फालेको फोहोर एक ठाउँबाट अर्को ठाउँमा लगेर छोडिदिएको देख्न सकिन्छ । प्लाष्टिकजन्य फोहोरहरु यत्रतत्र देख्न पाइन्छ ।
जसले काठमाडौं उपत्यकावासीको चरित्रलाई पनि उदांगो बनाइदिएको छ वा भनौँ काठमाडौंवासीले नदीमा कति फोहोर फालेका छन्, कतिसम्म अनुशासित छन् भन्नेकुरा देखाइदिएको छ ।
किनपनि भने अनुशाषित मानिसले फोहोर जताततै फालेर हिँड्दैन, सफा गरेर आफू र समाजलाई बचाउन लाग्छ । यस्तो फोहोरका कारण रोगहरु निम्त्याउन सक्ने खतरा पनि उत्तिकै छ ।