२७ साउन, काठमाण्डौ ।
नेपाल प्रहरीमा करिब २७ हजार दरबन्दी थप गर्नुपर्ने भएको छ । विभिन्न स्थानीय तहमा अस्थायी पोष्ट राख्नका लागि परेको निवदेनका आधारमा प्रहरीले २७ हजार जनशक्ति थप्नुपर्ने बताएको हो । विभिन्न ठाउँमा प्रहरी पोष्ट राख्नका लागि निवेदन परेका छन् । यसलाई अध्ययन गर्दा थप २७ हजार प्रहरी आवस्यक पर्ने देखिन्छ, प्रहरी प्रवक्ता डीआइजी दानबहादुर कार्कीले भने ।
पछिल्लो समय प्रहरीको अनुशन्धान हत्या, लुटपाटको केसमा मात्र सीमित छैन् । आर्थिक अपराध र साइबर अपराधमा पनि प्रहरीले धेरै समय दिनु परेको छ । जसले गर्दा प्रहरीको माग बढ्दै गएको हो । तर प्रहरीले दरबन्दी थपका लागि सरकारसामु प्रस्ताव गर्नै छाडेको छ । ६ हजार दरबन्दी थप गर्न यसअघि नै पटक पटक गरेको प्रस्ताव गृह र अर्थ मन्त्रालयले फिर्ता गरिदिएका कारण प्रहरीले ताकेता गर्न छाडेको हो ।
प्रहरीमा पछिल्लो पटक २०७६ असोजमा ३ हजार ५९६ दरबन्दी थपिएको थियो । त्यसको एक वर्षअघि २०७५ जेठ २७ मा ३ हजार ३३७ दरबन्दी थपिएको थियो । प्रहरीको दरबन्दी अहिले ७९ हजार ५४१ छ । त्यसमध्ये करिब ३३ हजार पछिल्लो १६ वर्षमा थपिएको हो । प्रहरीमा ८ हजार ८७७ जना अर्थात ११.७३ प्रतिशत महिला छन् ।
हाल कायम दरबन्दीमध्ये ३ हजार ८५७ दरबन्दी खाली रहेको छ । जागिर छोड्ने प्रवृत्ति बढ्नुका साथै भर्ना प्रक्रिया लामो भएका कारण ४.८५ प्रतिशत दरबन्दी खाली हुन पुगेको हो । लामो भर्ना प्रक्रिया र राजीनामाको ट्रेन्ड बढेकाले धेरै दरबन्दी खाली भएको प्रवक्ता कार्कीले बताए । डीआईजी कार्की भन्छन्, प्रहरी भर्ना गर्न नै एक वर्षसम्म लाग्छ ।
तर रिक्त नभई विज्ञापन गर्न मिल्दैन । जसले गर्दा लामो समय दरबन्दी खाली हुने गरेको हो । पछिल्लो समय अवकाशका साथै राजीनामाले पनि खाली दरबन्दी धेरै भएको देखिन्छ । गत आर्थिक वर्ष ७९२ प्रहरीले राजीनामा दिएका थिए । गएको पाँच वर्षमा ६ हजार ९८३ प्रहरीले राजीनामा बुझाएको तथ्यांक छ ।