२९ साउन, विराटनगर । भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृत रूपमा नेपाल प्रवेश गर्नखोज्ने दुई बंगलादेशी नागरिकलाई फिर्ता पठाइएको छ ।
मंगलबार दिउँसो विराटनगरको रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोजेका एक पुरुष र एक जना वृद्धा महिलालाई प्रहरीले फिर्ता पठाएको हो ।
बंगलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई भारततिर नै फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।
नेपाल आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्नेक्रममा दुवै जनाको साथबाट बंगलादेशको नागरिक रहेको प्रमाणित हुने पासपोर्ट फेला परेको थियो ।
विराटनगरको रानी नाका हुँदै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न खोजेको यो दोस्रो घटना हो । यसअघि नेपाल प्रवेश गर्न खोज्ने बंगलादेश टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई साउन २२ गते प्रहरीले फिर्ता पठाएको थियो ।बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्ने सम्भावनालाई मध्यरनजर गर्दै नेपाल-भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।