४ भदौ , एजेन्सी ।
२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा आज बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरू हुनेछ । च्याम्पियनसिपमा पहिलो खेल खेल्न लागेको बंगलादेश सुखद सुरुवात गर्ने आशमा छ । उता पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको श्रीलंका बंगलादेशलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना जिवित राख्ने योजानमा मैदान उत्रनेछ ।
च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंका नेपालसँग १–० गोल अन्तरले पराजित भएको थियो । श्रीलंकाले आजको खेलमा बंगलादेशमाथि जित निकाले र समूह चरणको अन्तिम खेलमा नेपालले पनि बंगलादेशलाई पराजित गरे श्रीलंकाले अन्तिम चारको यात्रा तय गर्नेछ । तर आजको खेलमा पनि श्रीलंका पराजित भए समूह चरणबाटै बाहिरिने पहिलो टोली बन्नेछ । त्यसैले श्रीलंका जित्नै पर्ने दबाबमा छ ।
यसअघि हिजो भएको खेलमा साविक विजेता भारतले भुटानलाई १–० गोलले हरायो । अब विहीबार नेपालले समूहको दोस्रो खेल बङ्गलादेशसँग खेल्नेछ । नेपालले आफ्नो समूहमा कमजोर मानिएको श्रीलंकालाई हिजो भएको खेलमा पराजित गरिसकेको छ । भुटानले बुधबार माल्दिभ्ससँग खेल्नेछ । शुक्रबार भने भारतले माल्दिभ्सको साममना गर्नेछ ।
सेमिफाइनलका खेलहरु आइतबारबाट सुरु हुनेछन् । नेपाल दुई पल्टको पुरानो च्याम्पियन हो । भारतले तीन पल्ट उपाधि जितेको छ । च्याम्पियनशिपमा पाकिस्तानबाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।