४ भदौ, विराटनगर ।
पाल्पाकी ३१ वर्षीया चीनाकुमारी नेपाली र पूर्वी नवलपरासीकी ३६ वर्षीया ज्योति सार्की लामो सयम प्रेम सम्बन्धमा रहे । रामपुर–९ जब्गादी निवासी चीना र पूर्वी नवलपरासी बौदीकाली–१, मिथुकरम निवासी ज्योति दुवै महिला हुन् ।
दुवै जना महिला भएका कारण समाजले के सोच्ला भन्दै बसेका उनीहरूले ढिलोगरी २०७८ असोज २९ गते परम्पराअनुसार विवाह गरे ।
विवाहको झन्डै तीन वर्षपछि उनीहरूबीचको समलिंगी विवाहले कानुनी मान्यता प्राप्त गरेको छ । पाल्पाको रामपुर नगरपालिका–९ नम्बर वडा कार्यालयमा विवाह दर्ता भएसँगै उनीहरूको विवाहले कानुनी मान्यता प्राप्त गरेको हो ।
चीना र ज्योतिले विवाह दर्ताका लागि निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रको आधारमा गत आइतबार विवाह दर्ता प्रमाणपत्र जारी गरिएको थियो ।‘पहिलोपटक समलिंगी विवाहलाई मान्यता दिनुपर्ने भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर वडाले प्रमाणपत्र प्रदान गरेको हो ।
विवाह दर्ताको अस्थायी प्रमाणपत्रमा चीनालाई दुलहा र ज्योतिलाई दुलही उल्लेख गरिएको छ । उनीहरु दुवै जना अहिले वैदेशिक रोजगारीको क्रममा कतारमा छन् ।
घर आएको समयमा यस पटक उनीहरूले विवाह दर्ता गराएका हुन् ।
२०८० असार १२ गतेको सर्वोच्च अदालतको उत्प्रेषणयुक्त अन्तरिम आदेशसँगै गृह मन्त्रालयको निर्णयअनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी अभिलेख रहने गरी समलिंगी विवाह दर्ताको व्यवस्था मिलाउन २०८१ वैशाख १२ गते स्थानीय तहलाई परिपत्र गरेको थियो ।