६ भदौ, विराटनगर ।
घरेलु टोली नेपाल काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपमा समूह विजेता बन्न सफल भएको छ ।
बिहीबार भएको खेलमा बंगलादेशमाथि २-१ गोलको जित निकालेको नेपाल समूह ‘ए’ को विजेता बनेको हो । नेपालसँग पराजित बंगलादेश भने यस समूहको उपविजेता बनेको छ ।
नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेसँगै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
त्यसअघि भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो । अब, नेपालले समूह ‘बी’को उपविजेतासँग खेल्ने छ ।श्रीलंका भने समूह ‘ए’ बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका लागि समीर तामाङ र निराजन धामीले एक-एक गोल गरे भने बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काए ।
नेपालका समीरले खेलको १७औं मिनेटमै गोल गर्द नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । प्रतियोगितामा समीरको यो पहिलो थियो ।
त्यसको दुई मिनेटपछि नै निराजनले अर्को गोल थपे । जारी प्रतियोगितामा उनको यो दोस्रो गोल हो । यसअघि श्रीलंकाविरुद्ध नेपाललाई जित दिलाउन उनले नै निर्णायक गोल गरेका थिए ।
पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा मिराजुल इस्लामले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काउने प्रयास गरे । नेपालका डिफेन्डर राम थापाले मिराजुललाई बक्सभित्र बंगलादेशले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई मिराजुलले सदुपयोग गरे ।
तर, खेलको बाँकी अवधि गोल हुन नसक्दा नेपाल २-१ गोलले विजयी भएको हो ।