१० भदौ, विराटनगर ।
नयाँ सिजनको स्पेनिस ला लिगामा साबिक विजेता रियल मड्रिडले पहिलो जित आत्मसात् गरेको छ । आइतबार राति आफ्नो दोस्रो खेल खेलेको रियलले रियल भल्लाडोलिडलाई ३-० गोललले हराउँदै पहिलो जित दर्ता गरेको हो ।
यसअघि पहिलो खेलमा रियलले मल्लोर्कासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । तर, गए राति सान्टियागो बर्नाबेउमा भने रियलले भालाडडोलिडमाथि सहज जित निकाल्यो ।
रियलको जितमा फेडेरिको भाल्भेर्डे, ब्राहिम डियाज र एन्डरिकले एक-एक गोल गरे । तर, रियलका नयाँ खेलाडीको रूपमा रहेका किलियन एमबाप्पे भने दोस्रो खेलमा पनि चल्न सकेनन् ।
युरोपा लिग च्याम्पियन एटलान्टालाई २–० ले हराउँदै युइएफए सुपर कपको उपाधि उचाल्दा एमबाप्पेले एक गोल गरेका थिए । त्यसैले उनले रियलमा आशाजनक सुरुआत गरेको मानिएको थियो । तर, लिगमा भने उनले गोल गर्न सकिरहेका छैनन् ।गए राति खेलको पहिलो हाफमा गोलका लागि निकै संर्घष गरेको रियलले दोस्रो हाफमा मात्र गोल गर्न सकेको थियो । खेलको ५०औँ मिनेटमा भाल्भेर्डेले रियलका लागि गोलको खाता खोलेका थिए ।
वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका ब्रहिम डियाजले ८८औँ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको छैटौँ मिनेटमा एनरिकले गोल थपेर रियललाई ३–० को अवस्थामा ल्याए ।
रियल दुई खेलबाट चार अंकसहित ला लिगा तालिकाको तेस्रो स्थानमा छ भने शीर्ष स्थानमा रहेको बार्सिलोना र सेल्टा भिगोभन्दा दुई अंकले पछि छ ।