११ भदौ, विराटनगर ।
पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले न्यायिक निकाय जाने संकेत गरेका छन् ।
मंगलबार बिहान केन्द्रीय कार्यालय च:मतिमा बसेको केन्द्रीय समिति बैठक ढकाललाई साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो ।
त्यसपछि सामाजिक सञ्जालमार्फत ढकालले न्यायिक निकायले पार्टीको कारबाही बदर गरिदिने बताएका हुन् । साथै, उनले रास्वपाबाट नभएर आफू सभापति रवि लामिछानेको क्लबबाट निष्कासनमा परेको बताएका छन् ।
उनले लेखेका छन्, ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लवको कारवाहिलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ । नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ ।’यसैगरी उनले सहकारी प्रकरणका सवालमा लामिछानेले आमजनतालाई भ्रमित पार्नेगरी भाषणबाजी गर्दै हिँडेको बताएका छन् । ‘सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडका छन् । आफूविरुद्ध आएका प्रमाणलाई कीर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र, फेरि पनि नैतिकरूपले पतित रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस्, एउटा पूर्वगृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’
पटक-पटक सोधिएको स्पष्टीकरणको जबाफ चित्तबुझ्दो नआएपछि रास्वपाले उनलाई साधारण सदस्यबाट समेत हटाउने गरेको हो ।पार्टीविरुद्ध निरन्तर रूपमा खनिएका डा. ढकाललाई रास्वपाले ३५ दिनको समय दिएर पटक-पटक स्पष्टीकरण सोधेको थियो ।
तर, पार्टी सभापति रवि लामिछानेलाई विविध आरोप लगाउँदै आएका ढकालले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि पार्टीभित्र उनलाई निष्काशित गर्नुपर्ने माग उठेको थियो । सोहीअनुरूप ढकाल कारबाहीमा परेका हुन् ।
यसअघि पार्टी अनुशासन र आचरणविपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो ।
जिल्ला-जिल्ला घुमेर नेता, कार्यकर्ताका सुझावमा आधारित रही ढकालले पार्टीमा प्रतिवेदन पेस गरेका थिए । त्यसपछि ढकालमाथि रास्वपाले स्पष्टीकरण र कारबाही प्रक्रिया सुरु गरेको थियो ।