१४ भदौ, विराटनगर ।
युरोपको च्याम्पियन स्पेनले आसन्न युइएफए नेसन्स लिगका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । स्पेनका प्रशिक्षक लुइस डी ला फुयन्टेले शुक्रबार २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
स्पेनले सेप्टेमबर ५ मा सर्बियासँग खेल्दै नेसन्स लिगको थालनी गर्दै छ । त्यसको तीन दिनपछि स्पेनले डेनमार्कसँग खेल्ने छ । स्पेन लिग ‘ए’ को ग्रुप ४ रहेको छ । उक्त समूहमा स्पेन र सर्बियाबाहेक डेनमार्क र स्विट्जरल्यान्ड रहेको छ ।
उक्द दुई खेलका लागि स्पेनले घोषणा गरेको टोलीमा लामिन यमल, फेरान टोरेस, पेड्री, डानी ओल्मो, रोड्रिगोलगायत समावेश छन् । टोलीमा अल्भारो मोरटा र युनाई सिमोनले चोटका कारण स्थान बनाउन सकेका छैनन् भने नाचो फर्नान्डेज र मिकेल मेरिनोलाई टिमबाट बाहिर राखिएको छ ।
चौथो संस्करणको नेसन्स लिगको उपाधि जित्नेगरी स्पेनको टिम तयारीमा जुटेको छ । स्पेन साविक विजेतासमेत हो । उसले नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा क्रोएसियामाथि पेनाल्टीमा जित निकाल्दै नेसन्स लिगको उपाधि जितेको थियो ।सन् २०१८-१९ मा पोर्चुगलमा आयोजित पहिलो संस्करणको नेसन्स लिगको उपाधि घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई हराउँदै जितेको थियो ।
सन् २०२०-२१ को युइएफए नेसन्स लिगको विजेता फ्रान्स हो । इटालीमा आयोजित उक्त संस्करणमा उसले त्यसबेला स्पेनलाई हराउँदै उपाधि उचालेको थियो ।