१४ भदौ, विराटनगर ।
पहिलो संस्करणको विजेता पोर्चुगलले युइएफए नेसन्स लिग खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेको छ । शुक्रबार मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले नेसन्स लिगको समूह चरणको खेल खेल्ने २५ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
मार्टिनेजले टोलीमा ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोलाई पनि समावेश गरेका छन् । कप्तान रोनाल्डो गत महिना सम्पन्न युरो कपमा गोलविहीन बनेका थिए ।
पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डो पुरुष फुटबलको इतिहासमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोलकर्ता पनि हुन् । उनले हालसम्म राष्ट्रका लागि दुई सय १२ खेल खेलेर १३० गोल गरेका छन् ।
तर, रोनाल्डोको युरो कप २०२४ भने निराशाजनक रह्यो । सन् २०१६ को युरोकप जितेका रोनाल्डो गत संस्करणको प्रतियोगितामा भने पाँच खेल खेल्दा गोल गर्न सकेनन् । पोर्चुगल पनि क्वार्टरफाइनल खेलमा फ्रान्ससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरियो ।अब, यसपालि भने रोनाल्डो र उनी सम्मेलित पोर्चुगलको टिम युइएफए नेसन्स लिगको उपाधि जित्ने योजनामा रहने छ । पोर्चुगलले सेप्टेम्बर ५ मा क्रोएसिया र सेप्टेम्बर ८ मा स्कटल्यान्डसँग खेल्ने छ ।
सन् २०१८-१९ मा पोर्चुगलमा आयोजित पहिलो संस्करणको नेसन्स लिगको उपाधि घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई हराउँदै जितेको थियो । सन् २०२०-२१ को युइएफए नेसन्स लिगको विजेता फ्रान्स हो । इटालीमा आयोजित उक्त संस्करणमा उसले त्यसबेला स्पेनलाई हराउँदै उपाधि उचालेको थियो ।
नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा क्रोएसियामाथि पेनाल्टीमा जित निकाल्दै स्पेन नेसन्स लिगको उपाधि जितेको थियो ।
मार्टिनेजको टोलीमा रोनाल्डोबाहेक जाओ फेलिक्स, डिएगो जोटा, ब्रुनो फर्नान्डेज, बर्नान्डो सिल्भालगायत पनि समावेश छन् ।