१६ भदौ, विराटनगर ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको एन्फा महिला लिगमा अहिले कोशी प्रदेश र स्याङ्जाको वालिङ नगरपालिकाले खेलिरहेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिँदा कोशीले १-० गोलको अग्रता बनाएको छ । खेलको १०औं मिनेटमा सञ्जुमाया तामाङले गोल गरेपछि कोशीले वालिङमाथि अग्रता बनाएको हो ।
एन्फा महिला लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बागमती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् ।
सिंगल राउन्ड रोबिनको आधारमा पहिलो चरणमा ४५ खेल हुनेछन् । सिंगल राउन्ड रोबिनबाट शीर्ष पाँच टोलीबीच पुनः डबल राउन्ड रोबिनका आधारमा सुपर लिग हुनेछ । सुपर लिगमा २० खेल हुनेछन् ।सुपर लिगमा उत्कृष्ट चार टोलीबीच क्वालिफायर, इलिमिनेटर र फाइनल खेल गरी कुल ६९ खेल हुनेछ । दुई करोड २४ लाख ६८ हजार रुपैयाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।
यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।