१६ भदौ , विराटनगर ।
दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच लामो समयदेखिको तनाव निकै बढ्न सक्ने संकेत देखिएको छ । जहाँ यी दुई देश बारम्बार मुठभेडको स्थिति नजिक पुगेका छन् । पछिल्लो पटक शनिबार फेरि दुई देशका तट रक्षक जहाज आपसमा ठोक्किएका छन् । यो महिनामा चीन र फिलिपिन्सबीच समुद्रमा भएको पाँचौँ टकराव हो ।
र रोचक त के छ भने, यस्ता घटनामा दुवैले एकअर्कालाई आरोप लगाउँदै आएका छन् । शनिबार पनि दुवै देशका तट रक्षक जहाजहरूबीच ठक्कर भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । फिलिपिन्सका तट रक्षकका प्रवक्ता टैरिएलाले शनिबार भएको ठक्करको भिडियो सेयर गरेका थिए । उनले भनेका छन् – चिनियाँ तट रक्षक जहाजले जानाजान फिलिपिन्सको जहाजलाई ठक्कर दिएको थियो । यसले गर्दा उनीहरूको तट रक्षक जहाजलाई क्षति पुगेको छ यद्यपि, यस घटनामा कुनै व्यक्ति घाइते भएका छैनन् ।
यता चिनियाँ तट रक्षकका प्रवक्ता लियु डेजुनले भनेका छन् –फिलिपिन्सले गैरकानूनी रूपमा दक्षिण चीन सागरमा रहेको साबिना शोल (सेकेन्ड थोमस शोल) नामको कोरल आइल्याण्डमा आफ्नो जहाज रोकेको थियो । त्यसपछि उसले अचानक चीनको तट रक्षक जहाजलाई ठक्कर दिएको थियो । चिनियाँ तट रक्षकले चेतावनी दिएको छ –यदि फिलिपिन्स समयमै पछि हटेन भने उसले परिणाम भोग्नुपर्नेछ ।
चीनले भनेको छ –देशको सुरक्षा लागि हरेक आवश्यक कदम चाल्नेछौं । लियुले भने, ‘चिनियाँ तट रक्षकले आफ्नो देशको सुरक्षा र समुद्री अधिकारहरूको रक्षा गर्न हरेक आवश्यक कदम चाल्नेछ।’ फिलिपिन्सले अप्रिलमा आफ्नो पालावन प्रान्तबाट ७५ नौटिकल माइल अर्थात् १३८ किलोमिटर टाढा एक जहाज तैनाथ गरेको थियो ।
चीनले गैरकानूनी रूपमा एउटा कृत्रिम टापु बनाउन खोजेको फिलिपिन्सले आरोप लगाएको छ । यद्यपि, चीनले ती दावीहरूलाई अस्वीकार गरेको छ । चीनले सम्पूर्ण दक्षिण चीन सागरलाई आफ्नो हिस्सा बताउँछ । यसलाई लिएर उसको फिलिपिन्स, मलेसिया, ताइवान, भियतनाम, र ब्रुनेई जस्ता देशहरूसँग विवाद छ ।
करीब १२ दिनअघि पनि चीन र फिलिपिन्सका जहाजहरू सेकेन्ड थोमस शोल नजिकै आपसमा ठोक्किएका थिए । चीनका तट रक्षकले भनेका थिए –उनीहरूको तट रक्षक जहाज २१५५१ ले फिलिपिन्सको जहाज ४४१० लाई धेरै पटक चेतावनी दिएको थियो । तर, उनीहरूले यसलाई नजरअन्दाज गरेर ठक्कर दिए ।
चिनियाँ तट रक्षकका प्रवक्ता गेंग युले भने –फिलिपिन्सको जहाजले निकै गैर जिम्मेवार र खतरनाक तरिकाले काम गरेको थियो । फिलिपिन्सको जहाज जियाबिन रीफ (साबिना शोलको) नजिकै गैरकानूनी रूपमा चिनियाँ जल क्षेत्रमा प्रवेश गरेको थियो । यदि उनीहरूले यसरी नै उक्साउने काम गरे भने तिनीहरूले यसको परिणाम भोग्नुपर्नेछ ।
सेकेन्ड थोमस शोल दक्षिण चीन सागरमा स्प्रैटली आइल्याण्ड्समा एउटा जलमग्न चट्टान हो । यसमा ६ देशले दाबी गरेका छन् । फिलिपिन्सले भनेको –सेकेन्ड थोमस शोल उसको समुद्र तटबाट २०० नौटिकल माइल (लगभग ३७० किलोमिटर) र पलावन टापुबाट १४० किलोमिटरको दूरीमा अवस्थित छ । यो क्षेत्र उसको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विशेष आर्थिक क्षेत्र (सेज) मा पर्दछ ।
सेकन्ड थोमस शोलमा दुई दशकदेखि फिलिपिन्सले आफ्नो नौसेना जहाज ‘बिआरपी’ सिएरा माद्रे तैनाथ गरेको छ । यसमा फिलिपिनी मरीनको एक सानो टुकडी तैनाथ छ । चीनले पनि यस क्षेत्रमा निगरानीका लागि आफ्ना धेरै बोटहरू र तट रक्षकलाई तैनाथ गरेको छ । यही कारणले गर्दा दुवै देशका जहाजहरू यहाँ अक्सर ठोक्किन्छन् । सेकेन्ड थोमस शोललाई चीनले साबिना शोल भन्छ र यसमा उसले दाबी गर्छ ।
यो क्षेत्र चीनको हाइनान टापुबाट करिब १००० किलोमिटर टाढा छ । वास्तवमा, दक्षिण चीन सागरको करिब ८० प्रतिशत क्षेत्रमा आफ्नो दाबी गर्दै आएको छ । यो एउटा यस्तो समुद्री क्षेत्र हो जहाँ प्राकृतिक तेल र ग्यास प्रचुर मात्रामा उपलब्ध छ । यसै कारणले यस क्षेत्रमा रहेका कुनै पनि देशले दक्षिण चीन सागरको दाबी छोड्न चाहँदैनन् । यही कारणले चीनको यस क्षेत्रमा लिएर धेरै देशहरूसँग विवाद चलिरहेको छ ।
साथै विश्वभर हुने व्यापारको ८० प्रतिशत समुद्री मार्गबाट हुन्छ । र करिब एक तिहाइ व्यापार यही साउथ चाइना सीको मार्गबाट हुन्छ । यस क्षेत्रबाट वार्षिक रुपमा करिब ३.३७ ट्रिलियन डलरको व्यापार हुँदै आएको छ । यसैले पनि यस क्षेत्रमा धेरै देशको नजर पर्नु स्वभाविक मानिन्छ । विशेषगरी चीनसँग अन्य मुलुकहरुको विवादमध्ये प्रमुख कारण यही व्यापारिक मार्ग पनि एक हो ।
ताइवानसहित अन्य दर्जन जति चीनका छिमेकी देशहरु यही विषयलाई लिएर पनि रुष्ट बन्दै आएका छन् । यस्तै चीन र अमेरिकाबीच विवादको एक कारण यही क्षेत्र पनि हो । पछिल्लो विवादबारे चिनियाँ कोस्टगार्डले फिलिपिन्सलाई चेतावनी दिँदै भनेको छ, ‘ उक्साउने, तनाब सिर्जना गर्ने र हाम्रो क्षेत्रमा आउने कुनै पनि गतिविधिलाई हामी परास्त परिदिन्छौं ।’
फिलिपिन्सको कोस्टगार्डले भने आफ्नो जहाजलाई उक्त क्षेत्रबाट पछि नहटाउने चेतावनी दिएको छ । ‘प्रताडित गर्ने र हेप्ने हर्कत साथै चीनको तनाब बढाउने कदमका बावजुद हाम्रो जहाज सोही क्षेत्रमा खडा रहनेछ,’ फिलिपिन्सको कोस्ट गार्डले भनेको छ । यस विवादलाई लिएर अमेरिकाले पनि प्रतिक्रिया जनाएको छ ।
फिलिपिन्सस्थित अमेरिकी राजदूतावासले फिलिपिन्सको जहाजलाई चीनले यसअघि पनि कैयौं पटक ठक्कर दिँदै आएको भन्दै चीनको गतिविधिप्रति असन्तुष्टि जनाएको छ ।चिनियाँ ठक्करका कारण फिलिपिन्सको ९७ मिटर लामो जहाज टेरेसा मेगबनुआमा क्षति पुगेको अमेरिकी दूतावासको भनाइ छ । यसैबीच फिलिपिन्समा अवस्थित अमेरिकी राजदूत मेरिके एल कार्लसनले यस क्षेत्रमा चीनको यस्तो कारबाहीलाई खतरनाक भएको संज्ञा दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै चीनले पटक पटक अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोप लगाएका छन् । साथै फिलिपिन्सको जहाजमाथि ठक्कर दिएको घटनाप्रति आपत्ति जनाए । फिलिपिन्सको जहाज सागरको इक्सक्लुसिभ इकोनोमिक जोन (ईईजेड)मा रहेको समयमा चीनले ठक्कर दिएको भन्दै त्यसप्रति राजदूतले आपत्ति जनाएका छन् ।
अमेरिकी राजदूत कार्लसनले अमेरिका फिलिपिन्सको साथमा रहेको जनाएका छन् । त्यसो त चीन र ताइवानबीचको विवादमा पनि अमेरिकाले पटक पटक चीनलाई दबाब दिँदै आएको छ । चीनले भने फिलिपिन्स र अमेरिकाले यस क्षेत्रमा कैयौं पटक तनाब बढाएको बताउँदै आएका छन् । गत साता चिनियाँ रक्षा मन्त्रालयले अमेरिकाले फिलिपिन्सलाई उक्साउँदै भड्काउने गतिविधि गरिरहेको भन्दै अमेरिकाको भूमिकाप्रति आपत्ति जनाएको थियो ।
यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।