१८ भदौ, विराटनगर ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंमा जारी एन्फा महिला लिगमा मंगलबार (आज) विभागीय डर्बी हुँदै छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा एपिएफ र नेपाल पुलिस क्लब भिड्दै छन् ।
यो खेल अपरान्ह्र ४ : १५ बजे सुरु हुनेछ । एपिएफ गत संस्करणको विजेता हो । आजै हुने अर्को खेलमा चन्द्रपुर नगरपालिकाले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल दिउँसो १२:३० बजे सुरु हुनेछ ।
एन्फा महिला लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, बागमती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् ।
सिंगल राउन्ड रोबिनको आधारमा पहिलो चरणमा ४५ खेल हुनेछन् । सिंगल राउन्ड रोबिनबाट शीर्ष पाँच टोलीबीच पुनः डबल राउन्ड रोबिनका आधारमा सुपर लिग हुनेछ । सुपर लिगमा २० खेल हुनेछन् ।सुपर लिगमा उत्कृष्ट चार टोलीबीच क्वालिफायर, इलिमिनेटर र फाइनल खेल गरी कुल ६९ खेल हुनेछ । दुई करोड २४ लाख ६८ हजार रुपैयाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।
यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।