१९ भदौ, विराटनगर ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सक्रियता देखाउन थालेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का समर्थकहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको फेसबुकमा अनफलो गर्ने अभियान अझै कायमै राखेका छन् । जसका कारण एमाले महासचिव पोखरेले फेसबुकमा ओलीको पेज सेयर गर्दै फलो गरिदिन आशय प्रकट गरेका हुन् ।
बुधबार बिहानतिर ओलीको फेसबुक पेज पोखरेलले आफ्नो अकाउन्टमार्फत् सेयर गरेका हुन् ।
यसअघि मंगलबार बालेनले सामाजिक सञ्जालमार्फत् पोस्ट डिलेट गरेको जानकारी दिएपछि क्रुर बनेका उनका समर्थकहरूले अनफलो अभियान चलाउँदा ओलीको फेसबुकमा फलोअरहरू ह्वात्तै घटेका थिए ।
मंगलबार दिउँसोसम्म ओलीको फेसबुकमा झन्डै ६ लाख ६६ हजार फलोअर्स थिए । तर, बुधबार साँझ ५ बजेसम्ममा उनको फलोअर घटेर ५ लाख ९० हजारमा झरेको छ । यसरी हेर्दा करिब-करिब २४ घण्टाको अवधिमा ओलीका ७६ हजार फलोअर्स घटेका हुन् ।
विशेषतः काठमाडौं महानगरपालिकाका मेयर शाहको फेसबुक स्टाटसलाई लिएर ओलीका फलोअर्स घटेका हुन् । बालेनले बालबालिकासम्बन्धी कसूर गरेको आरोप लागेकी एमालेकी प्रदेश सांसद रेखाकुमारी शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई फेसबुकमार्फत दबाब दिएका थिए ।
सो पोष्ट एमालेका कार्यकर्ताले रिपोर्ट हानेपछि डिलिट भएको बताइएको छ । मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहितको पोस्ट गरेका थिए । उनले सरकारकै संलग्नतामा आफ्नो स्टाटस हटाइएको संकेत गरेका छन् ।
आफ्नो फेसबुक पोस्ट् डिलिट भएपछि बालेनले लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ ।’
सांसद शर्मामाथि एक नाबालिकालाई विगत आठ वर्षदेखि बाल श्रमिक बनाएर राखेको आरोप लागेको छ । शर्मा लुम्बिनी प्रदेश सांसद हुन् । उनको काठमाडौँस्थित घरमा १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा राखेको पाइएपछि महानगरपालिकाले उद्धार गरेको थियो ।
फेसबुक पोस्ट डिलिट भएपछि बालेन समर्थकहरूले प्रधानमन्त्री ओलीको फेसबुक अनफलो अभियान चलाएर विरोध गरेका हुन् ।