१९ भदौ, विराटनगर ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ललितपुरमा जारी एन्फा महिला लिगमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सुखद सुरुवात गरेको छ ।
बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले संकटालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
आर्मीको जितमा विमला चौधरीले दुई तथा सावित्रीदेवी मगर र अनिता रम्जेलले समान एक गोल गरे । योसँगै महिला लिगको पहिलो चरण सकिएको छ ।
लिगमा भोलि बिहिबार दुई खेल हुनेछ । दिनको पहिलो खेलमा बागमती प्रदेश र कोशी प्रदेश खेल्नेछन् । दोस्रो खेलमा भने वालिङ नगरपालिका र कर्णाली प्रदेश खेल्नेछन् ।