एजेन्सी, असोज ६
एसिया कप क्रिकेट अन्तर्गत शुक्रबार सम्पन्न सुपर ४ चरणमा पाकिस्तानले विजयी सुरुआत गरेको छ ।
अन्तिम ओभरसम्म चलेको रोमान्चक खेलमा अफगानिस्तानलाई ३ विकेटले हराउन पाकिस्तान सफल भएको हो । यो सँगै पाकिस्तानले महत्त्वपूर्ण अंक जोडेको छ ।
पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५७ रन जोडेको थियो । अफगानिस्तानका लागि ओपनर महमद सहजादले २० र इहसनुल्लाहले १० रनको योगदान दिए ।
तेस्रो नम्बरमा ब्याटिङ गरेका रहमत साहले पनि ५१ बलमा ३६ रन बनाए । चौथो विकेटका लागि अस्गर अफ्घानी र हस्मतुल्लाह शाहिदीले ९४ रनको साझेदारी गरे । कप्तान अस्गर ५६ बलमा २ चौका र ५ छक्कासहित ६७ रन जोड्दै शाहिन अफ्रिदीको बलमा बोल्ड भएका थिए ।
त्यस्तै हस्मतुल्लाह १ सय १८ बलको सामना गर्दै ७ चौकाको मद्दतबाट ९७ रनमा नटआउट रहे । शाहिदीले अन्तिम ओभरमा ३ ओटा चौका प्रहार गरेका थिए । गुल्बदीन नाइबले ७ बलमा नटआउट १० रन जोडे । पाकिस्तानका लागि मोअहमद नवाजले ३ विकेट लिए । युवा बलर शाहिन अफ्रिदीले २ विकेट तथा हसन अलीले १ विकेट हात पारे ।
प्रतिस्पर्धाताम्क लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ओपनर फखर जमानलाई पहिलो ओभरमा खाता नखोली मुजिबको बलमा गुमाएको थियो । त्यसपछि इमाम उल हक र बाबर आजमले १ सय ५४ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।
इमामले १ सय ४ बलमा ५ चौका र १ छक्कासहित ८० रन जोडे । बाबर भने ९४ बलमा ४ चौका र १ छक्कसहित ६६ रन जोड्दै स्टम्पिङ आउट भए । हरिस सोहेल ९१३०, सरफराज अहमद ९८० र आसिफ अलि ९७० ले पनि आक्रामक गतिमा खेल्ने प्रयास गरे ।
शोएब मलिकले ४३ बलमा नटआउट ५१ रन बनाएका थिए । ३ चौका र १ छक्का प्रहार गरेका मलिकले ५ बलमा १० रन आवश्यक पर्दा छक्का र चौका प्रहार गर्दै जित दिलाएका थिए । अफगानिस्तानका रशिद खानले ३ विकेट लिंदा मुजिब उर रहमानले २ तथा गुल्बदीनले १ विकेट हात पारे ।खेलको म्यान अफ द म्याच बलियो प्रदर्शन गरेका शोएब मलिक भए ।