२० भदौ, विराटनगर ।
अमेरिकाको टेक्सासस्थित ह्युस्टन सहरमा गोली प्रहारबाट ज्यान गुमाएकी मुना पाण्डेको अन्त्येष्टि गर्न उनकी आमा अमेरिका प्रस्थान गरेकी छन् । २१ वर्षीया पाण्डेको अन्तिम संस्कार गर्न बिहीबार बिहान उनकी आमा अनिता अधिकारी पाण्डे अमेरिका प्रस्थान गरेकी हुन् ।
छोरीको हत्यापछि अनिताले अमेरिका जानका लागि उनले भिसा आवेदन दिएकी थिइन् । काठमाडौंस्थित अमेरिकी दूतावासबाट भिसा पाएपछि उनी छोरीको सद्गतका लागि अमेरिका गएकी हुन् ।
अमेरिकामा रहेका एनआरएनका पदाधिकारीलगायत त्यहाँ रहेका आफन्तजन र नेपालीको सहयोगमा भदौ २४ गते मुनाको अन्त्येष्टि गरिने छ ।
सन् २०२१ मा अमेरिका पुगेर नर्सिङ पढ्दै गरेकी मुनाको भदौ ८ गते अपार्टमेन्टभित्रै हत्या भएको थियो । अपार्टमेन्टमै प्रवेश गरी छातीमा दुई र गर्धनमा एउटा गरी तीनवटा गोली प्रहार गरी मुनाको हत्या भएको थियो ।उनको हत्या आरोपमा भारतीय मुलका नागरिक बबिसिंह शाहलाई अमेरिकन प्रहरीले पक्राउ गरेको थियो । ‘बबी शाह’ नामले परिचित ५१ वर्षीय उनलाई मंगलबार पहिलोपटक अदालतमा उपस्थित गराइएको थियो ।
मुनाको शव फेला पारेको दुई दिनपछि सिसिटिभी फुटेजका आधारमा पक्राउ परेका शाहलाई मंगलबार ह्युस्टनस्थित ह्यारिस काउन्टी क्रिमिनल कोर्टहाउसमा भएको सुनवाइमा उपस्थित गराइएको थियो ।