२० भदौ, विराटनगर ।
कोलकातामा चिकित्सकको बलात्कार र हत्या भएको करिब एक महिना बित्न लागेको छ । अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेको थियो ।
चिकित्सकको मृत्युपछि कोलकातामात्र नभएर भारतभरि नै ती चिकित्सकका लागि न्यायको माग गर्दै प्रदर्शन भएको थियो । तर, अरूतिर धेरैहदसम्म विरोध प्रदर्शन र हडताल शान्त भए पनि कोलकाता जस्तो विशाल सहरमा नियमित प्रदर्शनहरू जारी छन् ।
महिलाविरुद्ध हिंसाको दीर्घकालीन समस्यालाई लिएर कोलकातामा आक्रोश बढेको छ । उक्त नृशंस हत्याले सम्पूर्ण कोलकातामा विरोध प्रदर्शन जारी छ । महिलाहरूको सुरक्षा अवस्थाको माग गर्दै चिकित्सकहरूले बारम्बार हडताल गरिरहेका छन् ।
बिहीबार (आज) बिहान पनि भारतीयहरूको विशाल भिडले मैनबत्ती लिएर कोलकाताका सडकहरूमा जुलुस निकालेको थियो ।चम्किरहेको मैनबत्ती र माटोको दियोमा लेखिएको एक सन्देशमा भनिएको छ, ‘हामी न्याय चाहन्छौँ’ । प्रदर्शनकारीहरूले बोकेका प्रतीकमा लेखिएको थियो, ‘उज्यालो होस्, न्याय होस्’ ।कोलकोताको जुलुसमा करिब एक लाख मानिसले भाग लिएको प्रहरीले बताएको छ । बुधबार साँझ अबेरसम्म हडतालमा रहेका सयौँ चिकित्सकसँगै हजारौँ मानिस भेला भएर विरोधमा मानव शृङ्खला बनाउन एकअर्काको हात समाइरहेका थिए ।
यसबीचमा कोलकातामा एक घण्टाका लागि बत्ती निभाइएको थियो । जसले गर्दा अँध्यारोमा परिणत भएकझ सहरको एउटा ठुलो हिस्सामा प्रदर्शनकारीहरूले बलिरहेको मशाल बोकेर सहरको अँध्यारो आकाशलाई उज्यालो बनाइरहेका थिए ।
न्याय नमिलेसम्म आफूहरू बारम्बार रात बिताउने आन्दोलनकारीको अडान छ । महिलाहरूले भारतीय झण्डा फहराउँदै सामूहिक धर्ना दिएर सडक अवरुद्ध गरेकाले कोलकाताका सामान्यतया व्यस्त हुने मुख्य सडकहरूमा यातायात रोकिने गरेका छन् ।
कहिलेकाहीँ भीडले क्रोधमा चिच्याउँदै ‘वि वान्ट जस्टिस’ भन्ने नारा लगाउँथे । तर मैनबत्तीहरू जलाउन सुरु गरेपछि त्यो नारा बिस्तारै नरम गीत गाउनुअघि शान्त प्रतिबिम्बमा रोकिने गरेका छन् ।
हत्या गरिएकी चिकित्सकका पिताले पनि शव फेला परेको अस्पतालबाहिरको जुलुसमा कुराकानी गरेका थिए । उनले छोरीको हत्यापछि आफ्नो परिवारलाई मानसिक रूपमा स्तब्ध बनाएको प्रतिक्रिया दिएका थिए ।
यस्तै, उनले आफ्नो परिवारमाथि छोरीको शवलाई चाँडोभन्दा चाँडो अन्त्येष्टि गर्न ‘धेरै दबाब’ दिइएको बताएका छन् । जसक्रममा आक्रोशित हुँदै उनले भनेका छन्, ‘हामी उनको शव राख्न चाहन्थ्यौँ । उनको अन्त्येष्टि गर्न के हतार थियो ? उनको मृत्यु रहस्यले ढाकिएको छ ।’
प्रदर्शनकारीहरूले हत्या गरिएकी चिकित्सकलाई ‘अभया’ उपनाम दिएका छन् । यसको अर्थ निडर हो ।
हत्याको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ । तर, अनुसन्धानको तरिकालाई लिएर पश्चिम बंगाल सरकारले सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ ।