२४ भदौ , काठमाण्डौ ।
नेपालले क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले आज सार्वजनिक गरेको विश्वकप लिग टु अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सम्बन्धी खबर हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं ।
विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ । त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ ।
तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ । सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । क्रिकेट क्यानडाले गत साता आफ्नो सामाजिक सन्जालमार्फत ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुने बताएको थियो ।
सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ । टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ । टि ट्वान्टी सिरिज पछि क्यानडासँग नेपालले ओडिआई सिरिज खेल्ने नेपाल क्रिकेट संघ(क्यान) द्वारा जारी बार्षिक क्यालेन्डरमा छ ।
त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जानेछ । अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली टोली आज स्वदेश फर्कदै छ । अबको केही दिनमा नै टोली क्यानडाको लागि प्रस्थान गर्नेछ । टोलीले श्रीलंकामा रहदा लिग टुको तयारी स्वरुप अभ्यास गर्नुका साथै एउटा अभ्यास खेल समेत खेलेको थियो ।
श्रीलंका डेभलभमेन्टसँग ३ अभ्यास खेल्ने तालिका रहे पनि पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । तेस्रो अभ्यास खेलमा भने नेपाल ५ विकेटले पराजित भएको थियो । लामो समयदेखि ओडिआई नखेलेको नेपालका लागि क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिज थप चुनौतीपूर्ण बनेको छ ।
नेपालले क्यानडामा लिग–२ को दोस्रो सिरिज खेल्न लागेको हो । यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो ।