२४ भदौ, धनगढी ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको अनुसन्धानमा जुटेका प्रहरीहरूको सरुवाको विषयमा बिस्तारै खुल्दै जाने बताएका छन् । रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि सोमबार कैलालीको धनगढी आइपुगेका लामिछानेले यस्तो बताएका हुन् ।
यसैगरी सहकारी पीडितको न्यायको पक्षमा भन्दा पनि आफूलाई दोषी देखाउने काम भइरहेको लामिछानेको टिप्पणी छ । ‘संसदीय समितिले समस्या समाधानमा केन्द्रित हुनेमा विश्वास छ,’ उनले भने, ‘केहीलाई लागेको छ, सहकारी भनेकै रवि लामिछाने हो भनेर । लाखौँ सहकारी पीडितको न्यायमा भन्दा पनि बढी रवि लामिछानेलाई डाम्न पाए हुन्थ्यो । दोषी देखाउन पाए हुन्थ्यो भनेर केन्द्रीत भएर मिडिया ट्रायलसमेत गर्नेहरुले लाखौँ जनताको अपेक्षामा कुठाराघात गर्ने काम गरिरहेका छन् । त्यसलाई इतिहासले मूल्यांकन गर्ला । समिति लाखौं पीडितले बचत फिर्ता पाउनेमा केन्द्रीत हुने छ भन्ने मैले विश्वास लिएको छु ।’
यस्तै, उनले सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने विषयमा आफू संलग्न नरहेको दाबी गरे । सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याएको प्रमाणित गर्न उनले चुनौतीसमेत दिए । आफू गोर्खा मिडियामा भएको बेला सहकारीबाट गलत ढंगले पैसा ल्याउने विषयको विवरण प्रहरीको प्रतिवेदनले स्पष्ट पारेको समेत उनले उल्लेख गरे ।