२५ भदौ , एजेन्सी ।
इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले भ्रमणमा रहेका डेनमार्कका विदेशमन्त्री लार्स लोकके रासमुसेनसंग मध्यपूर्व अवस्थाबारे छलफल गरेका छन् । इजिप्टको राष्ट्रपति कार्यालयका अनुसार गाजा स्ट्रिपमा युद्धविराममा पुग्ने कुरामा ध्यान दिएर छलफल गरिएको बताइएको छ । सिसीले इजरायली बन्धकहरू र प्यालेस्टिनी बन्दीहरूको आदानप्रदानसहित गाजामा युद्धविराम र युद्धविरामको तत्काल आवश्यकतामा जोड दिए ।
दुवै नेताहरूले निकट पूर्वमा प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत र कार्य एजेन्सीको महत्वपूर्ण भुमिकामा जोड दिएका छन् । महत्त्वपूर्ण चुनौतीहरूको बीचमा संगठनलाई समर्थन गर्ने आवश्यकतामा सहमत छन् । वार्तामा सुडानको अवस्थाबारे पनि कुराकानी भएको थियो ।
सिसीले सुडानको लागि मानवीय सहयोग बढाउन आह्वान गरे र यसको आन्तरिक मामिलामा गैरहस्तक्षेपको महत्त्वलाई जोड दिए । बैठकको क्रममा रासमुसेनले इजिप्टलाई डेनमार्कको लागि एक प्रमुख रणनीतिक साझेदार भनेर वर्णन गरे । इजिप्टका राष्ट्रपतिले विदेश मामिला र सुरक्षा नीतिका लागि इयुका उच्च प्रतिनिधि जोसेप बोरेललसंग पनि गाजापट्टीको अवस्था र यसको क्षेत्रीय प्रभावहरूबारे छलफल गरेका छन् ।
सिसी र बोरेलले युद्धविराममा पुग्न र बन्दी र बन्धकहरूको रिहाइ सुरक्षित गर्न इजिप्टको गहन प्रयासलाई सम्बोधन गरेका छन् । गाजा युद्धविरामले दुई–राज्य समाधानको लागि मार्ग प्रशस्त गर्नेछ । जसले यस क्षेत्रमा शान्ति, सहअस्तित्व, स्थिरता र विकासको लागि ठाउँ खोल्न मद्दत गर्ने विश्वास छ ।
इजिप्टका राष्ट्रपतिले निरन्तर द्वन्द्वलाई थप बिस्तार गर्ने खतराहरूबारे चेतावनी दिए । उनले गाजा स्ट्रिपमा युद्धविराम सम्झौतामा पुग्न र क्षेत्रीय तनाव कम गर्न र शान्ति र सुरक्षा पुनःस्थापना गर्ने वेस्ट बैंकमा हिंसा रोक्न प्रयासहरू बढाउन अन्तर्राष्ट्रिय समुदाय र ईयूलाई आह्वान गरे । आफ्नो पक्षबाट बोरेलले क्षेत्रीय स्थायित्व प्रवर्द्धन गर्न इजिप्टको निर्णायक भुमिकाको प्रशंसा गरे ।
बोरेलको आधिकारिक भ्रमण इजिप्ट र लेबनानको भ्रमणको भाग हो । यस्तै इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले पनि सुडानका विदेशमन्त्री हुसेन अवादसँग सुडानमा देखिएको संकट समाधानका प्रयासहरूबारे छलफल गर्न कायरोमा छलफल गरेका छन् । अब्देलाट्टीले सुडानको एकता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति इजिप्टको प्रतिवद्धता दोहो¥याए ।
उनले इजिप्टमा बसोवास गर्ने सुडानी नागरिकहरूलाई सहयोग गर्ने इजिप्टको प्रयासमा पनि जोड दिए । आफ्नो पक्षबाट अवादले सुडान द्वन्द्वको समाधान खोज्नको लागि इजिप्टको भुमिकाको लागि धन्यवाद दिए । अप्रिल १५, २०२३ देखि, सुडान सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सहरू बीचको द्वन्द्वमा फसेको छ । जसमा कम्तिमा १६ हजार ६५० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्कले सुडान भित्र करिव १०.७ मिलियन मानिस विस्थापित भएको अनुमान गरेको छ ।