२६ भदौ, काठमाडौं ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा रुलिङ गर्दै हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । तथापि, उनले आगामी दिनमा शब्द छनोट गर्दा ध्यान दिन सांसदहरूलाई आग्रह गरेका छन् ।
भदौ १२ गते बसेको संसद्को बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेका थिए । जसपछि, जनयुद्धलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र र सत्तारुढ नेकपा एमालेबीच सदनमा आरोप प्रत्यारोप चलेको थियो ।
सांसद भट्टराईले माओवादीको १० वर्षे हिंसा भनेपछि माओवादीका सांसदहरूले नियमापत्ति गरेका थिए । सांसद माधव सापकोटाले नियमापत्ति गरेर बाल्ने समय मागे पनि सभामुखले समय दिएनन् ।
उनले सांसद भट्टराईले गैरसंसदीय र अमर्यादित शब्द प्रयोग गरेको दाबी गरे। त्यसबेला सभामुख देवराज घिमिरिले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार दिएका थिए ।
तर, बुधबारको प्रतिनिधिसभा बैठकमा सचिवालयको निर्णय सुनाउँदै उनले हिंसा शब्द हटाउन नपर्ने बताएका थिए । उनले उक्त शब्द असंसदीय नभएको बताए ।त्यसपश्चात् माओवादी प्रमुख प्रतिक्ष माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्रतिवाद गरे ।
उनले मुल कानुन संविधान भएको र संविधानमै जनयुद्ध र जनआन्दोलन व्याख्या प्रस्तावनामै व्याख्या गरिएको भन्दै हिंसा भन्ने शब्द संविधान र कानुन विपरित भएको भन्दै आपत्ति जनाए । ‘संविधान भन्दा यहाँ प्रयोग हुने शब्द फरक हुने हो‚’ उनले प्रश्न गरे । त्यसपश्चात् बोल्दै एमाले सांसद रघुजी पन्तले सभामुखको रूलिङमा प्रश्न उठाउने विषय नभएको उल्लेख गरे ।