२८ भदौ, विराटनगर ।
अमेरिकी सेनाको एक टोली नेपाली सेनासँग संयुक्त अभ्यास गर्नका लागि शुक्रबार नेपाल आइपुगेको छ । नेपाली सेनासँगको संयुक्त अभ्यास गर्न अमेरिकी सेनाको विशेष फौज शुक्रबार अमेरिकी वायु सेनाको जहाजमा काठमाडौं ओर्लिएको हो ।
आगामी आइतबारदेखि शुक्रबार (भदौ ३०-असोज ४) सम्म नेपाली सेनासँग अभ्यास गर्न संयुक्त राज्य अमेरिकी सेनाको एक टोली काठमाडौं आइपुगेको हो । संयुक्त अभ्यास मूल रूपमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा केन्द्रित हुने बताइएको छ ।
जसमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान हुने छ ।
काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुनेछन् । नेपाली सेना र अमेरिकी सेनाबीच विगत लामो समयदेखि विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अभ्यासहरू सञ्चालन हुँदै आइरहेका छन् ।
यस प्रकारका अभ्यासहरूबाट विशेषज्ञता आदानप्रदान हुन गई सैनिक पेसागत क्षमता अभिवृद्धिमा मद्दत पुग्दै आएको नेपाली सेनाले जनाएको छ ।