३० भदौ, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार नै छोड्नुपरेको गुनासो गरेका छन् । झापाको बिर्तामोडस्थित एक कार्यक्रममा आइतबार बिहान बोल्दै उनले बेथिति र विचलनविरुद्ध बोल्दा सरकारै छोड्नुपरेको गुनासो गरे ।
गिरीबन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ बिघा जग्गाका स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल रहने बताए । आइतबार बिहान सोही ५१ विघा जग्गामा भारतीय दूतावासको लगानीमा बनेको टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा स्थानीयवासीले पूर्वप्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका थिए ।
स्थानीयवासीको ज्ञापनपत्र बुझ्दै दाहालले स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल हुने बताए । उनले भने, ‘सायद मैले यिनै बेथिति र विचलनकाबिरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्ने बाध्यता पनि त्यसैबाट सिर्जना भयो । तर अब सडकबाट भए पनि, सदनबाट भएपनि, सरकारबाट भए पनि तपाईंहरूलाई न्याय दिलाउनेछु ।’