३१ भदौ, विराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरिएको थियो ।
सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी भएको छ ।
संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ताघटक काँग्रेसका २९ सांसद रहेका छन् ।कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । गत बैशाख २७ गते मुख्यमन्त्री नियुक्तभएका कार्कीले पहिलोपटक बैशाख ३१ गते विश्वासको मत लिएका थिए ।