३१ भदौ, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बाल हिंसाको आरोप लगाइरहेका नेकपा एमालेकी सांसद रेखा शर्मालाई पक्राउका लागि काठमाडौं जिल्ला अदालतले अनुमति दिन अस्वीकार गरेको छ ।
लुम्बिनी प्रदेश सांसद शर्मामाथि एक नाबालिकालाई विगत आठ वर्षदेखि बाल श्रमिक बनाएर राखेको आरोप छ । उनको काठमाडौंस्थित घरमा १४ वर्षीया बालिकालाई आठ वर्षदेखि बाल श्रमिकका रूपमा राखेको पाइएपछि महानगरपालिकाले उद्धार गरेको थियो ।
बालेनले प्रदेश सांसद शर्मालाई कारबाही कहिले गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित हुँदै प्रश्न गर्दै आएका छन् । शनिबार बालदिवसको दिन बालेनले प्रधानमन्त्री ओलीप्रति आक्रोशित हुँदै बालदिवसको शुभकामना दिएका थिए ।
काठमाडौं महानगरपालिकाले शर्माको घरमा काम गर्न राखिएकी बालिकालाई श्रममा लगाइएको र हिंसा भइरहेको भन्दै उद्धार गरेपछि महानगरविरुद्ध बालिकाका बुबाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।अदालतले उक्त रिट खारेज गरेको थियो । त्यतिबेलै शर्मा सम्भावित पक्राउविरुद्ध निषेधाज्ञा माग गर्दै उच्च अदालत पाटन पुगेकी थिइन् । पाटन उच्च अदालतले निषेधाज्ञा खारेज गरेपछि अनुसन्धानको दायरामा ल्याउन पार्टीले जोगाएको बालेनले आरोप लगाउँदै आएका छन् ।
काठमाडौं प्रहरी परिसरले रेखा शर्मालाई अनुसन्धान गर्न भन्दै दुईपटक जिल्ला अदालत काठमाडौं पुगेको थियो । तर, दुई पटकसम्म पक्राउ पुर्जी माग्न जाँदा पनि अदालतले दिन मानेनको छैन । हाल जाहेरीसहितको मिसिल जिल्ला सरकारी वकिल कार्यालयमा रहेको बुझिएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय प्रमुख सन्देश श्रेष्ठलेअदालतले दुईपटक माग्दा पनि पक्राउ पुर्जी नदिएको जानकारी दिए । उक्त घटना थुनामा राखेर अनुसन्धान गर्नुपर्ने प्रकृतिको नदेखिएको अदालतको ठहर रहेको बुझिएको छ ।