७ असोज, काठमाण्डौ।
नेपालमा सरकारी स्तरमा बालबालिकाहरुका लागि सुविधासम्पन्न मानिने कान्तिबाल अस्पतालमा नै चिकित्सकको चरम अभाव रहेको पाइएको छ। बालबालिकामा हुने क्यान्सर रोगीहरुको संख्या बढ्दै गइरहेपनि त्यसको तुलनामा उपचार गर्ने विशेषज्ञहरु भने पर्याप्त नभएको चिकित्सक सनी सिपाईंले बताइन् ।
कान्ति बाल अस्पतालमा कार्यरत उनले बालबालिकामा हुने क्यान्सर रोग उपचारका लागि चिकित्सकहरुको नै अभाव रहेको बताएकी छन् । कान्ति बाल अस्पतालमा पनि आफूसहित २ जना चिकित्सकको भरमा उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उनले सुनाइन् ।
चिकित्सक सिपाईंले सरकारले क्यान्सर अस्पतालहरुको स्तरोन्नति गरेर यसको जाँचका लागि बाहिरको भर पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने आवश्यकता पनि औंल्याइन् । उनले भनिन्, ‘अहिले चिकित्सकहरुको पर्याप्तता छैन ।
किनभने निश्चित रुपमा धेरैजसो जति पनि सेवा दिईरहेका छन् । यी केन्द्रहरुमा नै छन् । केन्द्रहरुबाट सेवा दिन पनि सबै ठाउँमा पर्याप्त छैनन् । कान्तिको हकमा म र अर्का एक जना चिकित्सक हुनुहुन्छ भने अन्य सेवाहरुमा एक जना वा दुई जना हुनुहुन्छ ।
जसले गर्दा ती सेवा केन्द्रहरुमा सेवा गर्न पनि केही कठिनाईहरु छन् भने नेपालमा काठमाडौं बाहिर ती सेवा पु¥याउनका लागि अझै पनि पर्याप्त जनशक्तिको अभाव नै छ जस्तो लाग्छ । सरकारले सेवा दिइरहेका अस्पतालहरुमा स्तरोन्नति गर्नुप¥यो ।
जाँच गर्नका लागि जुन बाहिर पठाउनुपर्ने अवस्था छ, त्यो नेपालमा नै गर्न सकियोस् ।’ बालिबालिकाहरुमा धेरैजसो ब्लड क्यान्सर देखिएको विभिन्न अध्ययनहरुले देखाएको छ । करिव ६० प्रतिशत भन्दा बढी बालबालिकाहरुमा ब्लड क्यान्सर देखिएको चिकित्सक सिपाईंको भनाई छ ।
उनले त्यसैगरी उनीहरुको बे्रने टयुमर, आँखा, नसा र मृर्गौलामा हुने क्यान्सर पनि क्रमशः देखिएको उपचारको क्रममा पाइएको पनि सुनाइन् । चिकित्सक सिपाईले भनिन्, ‘बालबालिकामा धेरैजसो ब्लड क्यान्सर देखिने गरेको पाइएको छ । ६०÷६५ प्रतिशत जति पनि क्यान्सर छ, त्यो बालबालिकाहरुमा हुने रगतको नै क्यान्सर हो । त्यसपछि ब्रेन ट्युमर, अरु अंगहरुमा आँखामा हुने, नशामा हुने, मिर्गौलामा हुने क्यान्सरहरु क्रमशः देखिदै आएका छन् ।’
नेपालमा वार्षिक करिव १५ सयसम्म बालिबालिकाहरुमा क्यान्सर देखिने प्रक्षेपण छ । त्यही प्रक्षेपणको आधारमा सो रोगका लागि उपचारको व्यवस्था मिलाउने काम गरिएको छ । कान्ति बाल अस्पतालमा मात्रै सो रोग लागेका बालबालिकाहरु वार्षिक रुपमा करिव १६० देखि २ सयसम्म आउने गरेको अस्पतालले जनाएको छ ।
चिकित्सकहरुले सो रोगको उपचारका लागि नेपालमा करिव ८ लाख रुपैयाँसम्म खर्च हुने जानकारी गराएका छन् । चिकित्सक सिपाईंका अनुसार परीक्षणको लागि खासगरी भारत पठाउनुपर्ने भएकाले उपचार खर्च बढ्न सक्नेछ ।