१७ असोज , काठमाण्डौ ।
लगातारको हारको श्रृंखला तोड्ने क्रममा नेपालले क्यानडामा दोस्रो जित निकालेको छ । कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनसँगै नेपालले क्यानडामा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजमा ओमानमाथि लगातार दोस्रो जित हासिल गरेको हो ।
बिहीबार बिहान भएको खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको छ । यसअघि नेपालले ओमानलाई नै ३७ रनले पराजित गरेको थियो । नेपाल घरेलु टोलीसँग पहिलो खेलमा चार विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा पनि नेपाल सोही टोलीसँग १४ रनले पराजित भयो । योसँगै नेपालले चार खेलबाट चार अंक जोडेको छ । एक खेल कम खेलेको क्यानडाको पनि समान अंक छ । तर, नेटरनरेटमा नेपाल अगाडि छ ।
नेपालको नेटरनरेट ०.९३५ छ भने क्यानडाको –०.२५३ छ । क्यानडाले अन्तिम खेल ओमानसँग खेल्ने छ । यही खेलबाट विजेताको टुंगो लाग्ने छ । ओमानको भने तीन खेलबाट दुई अंक मात्रै छ ।
आजको नेपालको जितमा कप्तान रोहितको प्रदर्शन तारिफयोग्य रह्यो । रोहितले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रन बनाए । बलिङतर्फ पनि एक ओभरमा सात रन खर्चिएर दुई विकेट लिए ।
उनकै अर्धशतकसँगै नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५७ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको ओमानले १७.५ ओभरमा १०१ रन बनाउँदै सबै विकेट गुमायो ।
खराब सुरूवात गरेको ओमानले २१ रन बनाउँदा २ विकेट गुमाइसकेको थियो । पहिलो २ विकेट रिजन ढकालले लिंदै नेपाललाई राम्रो सुरूवात दिलाए । उनले कश्यप प्रजापतिलाई २ र सोएब खानलाई ९ रनमा आउट गरे ।
यसपछि कप्तान अकिब इलियास र जेसन मक्सुदले तेस्रो विकेटको लागि ४० रनको साझेदारी गरे। यो साझेदारीलाई सन्दीप लामिछानेले तोडे । अकिब २२ रनमा सन्दीपको बलमा दीपेन्द्र सिंह ऐरीद्वारा क्याच आउट भए ।
यतिखेर ओमानले ६१ रन बनाएको थियो । यसपछि ओमानले निरन्तर अन्तरालमा विकेट गुमायो । थप ४० रन मात्र जोड्ने क्रममा बाँकी ७ विकेट खेर फाल्यो । बलिङमा कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए ।
मात्र ११ बलमा १० रन खर्चेर ३ विकेट आफ्नो नाममा लेखाए । रोहित, सन्दीप र रिजनले समान २ विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रनको योगफल खडा गरेको थियो ।
१३ रन मात्र जोड्दा नेपालका ओपनर अनिल शाह ११ रनमा आउट भए । लगतै १६ रन जोडेर आशिफ शेख पनि पबिलियन फर्किए । देव खनाल पनि क्रिजमा जम्न सकेनन्। उनी १८ रनमा आउट भए ।
नेपालले तेस्रो विकेट गुमाउँदा ५५ रन बनाएको थियो । यसपछि कुशल मल्ल र रोहितले चौथो विकेटको लागि ५५ रनको साझेदारी गरे । कुशल १९ रन जोडेर आउट भए । रोहितले ५६ रनको उत्कृष्ट पारी खेले ।
गुलशन झा २, दीपेन्द्र सिंह ऐरी १ र कुशल भुर्तेल ११ रनमा आउट भए । बलिङमा फयाज बटले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । रोहित प्लेयर अफ दी म्याच घोषित भए ।
टी २० सिरिजपछि नेपाल अमेरिका प्रस्थान गर्नेछ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि टी–२० सिरिज हुने भएको छ।
नेपाल र अमेरिकाबीच १७, १९ र २० अक्टोबर (कात्तिक १, ३ र ४ गते ) टी–२० सिरिज हुनेछ । त्यसलगत्तै नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच आइसिसी विश्वकप लिग–२ अन्तर्गतका खेल हुनेछन्।