१७ असोज , एजेन्सी ।
यता बङ्गलादेशको अन्तरिम सरकारले भारतका लागि उच्चायुक्तसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ । उनीहरूलाई ढाका फर्कन भनिएको छ।
भारतबाहेक अस्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञहरूलाई पनि फिर्ता बोलाइएको छ ।
पछिल्लो समय बङ्गलादेशमा ठुलो राजनीतिक परिवर्तन भएको छ ।
हप्तौँसम्म उग्र विद्यार्थी आन्दोलनका कारण शेख हसिनाले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर भारत भागेपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।
यसअघि बङ्गलादेशले बेलायतबाट पनि आफ्नो उच्चायुक्त सइदा मुना तस्नीमलाई फिर्ता बोलाएको थियो ।
हालै अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस पनि अमेरिका भ्रमणमा गएका थिए । यहाँ उनले अमेरिका, पाकिस्तानलगायत धेरै देशका राष्ट्रप्रमुखसँग भेट गरेका थिए ।