२० असोज , काठमाण्डौ।
पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा यसको प्रत्यक्ष चाप हवाइ उडानमा परेको छ । अझ नेपालीहरुको महान चाड दशैंमा प्राकृतिक विपद्ले सडकसंजालहरु तहसनहस बनाइदिएपछि एकमात्रै प्रमुख विकल्प हवाई यात्रा भएको छ ।
यात्रुको चापकै कारण विमानसेवा कम्पनीहरुले २२ घण्टाभन्दा बढी उडान सेवा दिने बताएका छन् । यसका लागि त्रिभुवल विमानस्थल र रात्रीकालीन समयमा उडान हुने प्रमुख क्षेत्रीय विमानस्थल विहान साढे ४ बजेदेखि रातको २ बजेसम्म सुचारु गरिएको छ ।
तर विमानसेवा कम्पनीहरुले दाबी गरे अनुरुप हवाइ यात्रामार्फत गन्तब्यमा जान महँगो मूल्यमा टिकट काटेकाहरु भने विमानस्थलमा घटौंसम्म कुर्न बाध्य भएका छन् । यस्तै दृश्य पोखरा विमानस्थलमा देखियो ।
टिकट काटेका यात्रुलाई बोलाएर हातमा बोर्डिङ पास दिएर ८ घण्टासम्म विमानस्थलमा कुराएपछि पोखरा विमानस्थलमा यात्रुको धैर्यताको बाँध टुटेको छ । विपद्पछि हवाइ उडानमा चाप बढेको छ ।
तर यात्रुले यसको लाभ उडान निक्कै सास्ती खेप्नु परेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भने आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
उनले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताएका हुन् ।
मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रीकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गरे ।
उनले चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुको संख्या बढी हुने भएकाले विमानको टिकट महंगो हुने गरेको बताए । उनले यात्रुहरु शहरबाट गाउँतर्फ जाने बढी हुने भएकाले गाउँबाट रित्तो जहाज फर्किनुपर्ने बाध्यताका कारण पनि केही रकम महंगो भएको बताए ।
सरकारले महंगो हुन नदिनका लागि अनुगमन र नियमन गरिरहेको पनि उनले बताए । यस पटक धेरै टिकटहरु पहिला नै विक्री भइसकेको र विपत्ति आइसकेपछि हवाई मार्गको यात्रा रोज्दा टिकटको चाप बढेको उनले बताए ।
उनले त्यसका लागि बिहान साढे ४ बजेदेखि राति उडान गर्नसक्ने समयसम्म उडान गरिरहेको बताए । त्यसका लागि नेपाल एयरलाइन्स र निजी एयरलाइन्सहरुसँग धेरै भन्दा धेरै उडान गर्न आग्रह गरेको पनि उनले बताए ।
रात्रीकालीन सेवामा अवतरणपछि गन्तव्यस्थलमा पुग्नका लागि पनि विमानस्थल क्षेत्रका यातायात व्यवसायीहरुसँग समन्वय गरे बढी भाडा नलिकनै यात्रुहरुलाई घरसम्म पुग्ने वातावरण सिर्जना गर्न आग्रह गरिएको पनि उनले बताए । यात्रा सहज बनाइ यात्रुलाई सुविधा दिनका लागि थप प्रभावकारी ढंगले काम गरिरहेको उनले बताए ।