२१ असोज , एजेन्सी ।
इजरायलले कस्तो, कुन हदसम्म जवाफी कारबाही गर्छ भन्ने हिसाबकिताब नगरी प्यालेस्टिनी लडाकू समूह हमासले उत्तरी इजरायलमा गरेको ठूलो दुश्साहासको आज एक वर्ष पूरा भएको छ । गत वर्ष ७ अक्टुबरकै दिन हमासले इजरायलमाथि आक्रमण गर्दा १ हजार १३९ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढीलाई बन्धक बनाएको थियो ।
मृत्यु हुनेमा १० जना नेपालीहरु पनि थिए, यस्तै हमासले बन्धक बनाएको भनिएका नेपालका विपिन जोशी पनि अझै फेला परेका छैनन् । हमासको कब्जामा परेको भनिएको अर्को महिना गाजाको अल–शिफा अस्पतालको एउटा सीसीटीभी उनीजस्तै एउटा व्यक्ति देखिएको भनिए पनि कञ्चनपुरको महेन्द्रनगरका जोशीको अवस्था हालसम्म अज्ञात छ ।
नेपाल सरकारले विपिनको रिहाइकालागि इजरायल, कतार, राष्ट्रसंघ लगायतसंग गरेको पहल सफल हुन सकेन । विपिन जोशी सम्पर्कविहीन हुँदा कञ्चनपुरकै सांसद एनपी साउद परराष्ट्रमन्त्री थिए । जिल्लाकै मन्त्री भएका कारण पनि जोशी परिवारलाई विपिनलाई चाँडै मुक्त गराउन पहल हुने आशा थियो ।
तर उनी बन्धक भएको भनिएको एक वर्षमा परराष्ट्र मन्त्रालयमा तीन मन्त्री र दुई सरकार फेरिए । अहिले त्यही क्षेत्रबाट सांसदमा निर्वाचित भएका रमेश लेखक गृहमन्त्री छन् । यसअघि परराष्ट्रमन्त्री रहेका नारायणकाजी श्रेष्ठले पनि जोशी परिवारसँगको भेटमा विपिनको रिहाइका लागि सक्दो पहल भइरहेको आश्वासन दिएका थिए ।
पछिल्लो पटक सरकार परिवर्तन भएपछि जोशी परिवारले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री राणालाई भेटेको थियो । ती भेटमा दिइएका जानकारीयता यो परिवारलाई विपिनको रिहाइका लागि भइरहेका पहलबारे सुनाउन राज्यका कुनै निकायले सम्पर्क गरेका छैनन् ।
यता सरकारले इजरेलका लागि सिफारिस गरेका नयाँ राजदूत धनप्रसाद पण्डितलाई हालै संसदीय सुनुवाइ समितिले नियुक्तिका लागि बाटो खोलिदिएको छ । तर सबै प्रक्रिया पूरा भएर इजरेलमा नयाँ राजदूत पुग्न अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन् ।
यस्तोमा विपिन फर्किने आशमा रहेको उनको परिवार झनै त्रासमा छ । किनभने त्यहाँ युद्धको घनत्व अहिले झनै बढ्न थालेको छ । ठिक एक वर्षअघि २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि इतिहासकै भीषण आक्रमण गरेको थियो ।
इजरायली भूमिमा हजारौं क्षेप्यास्त्र प्रहार गरेलगत्तै हमास लडाकुहरू जमिन तथा समुद्री मार्गबाट इजरायल प्रवेश गरेका थिए । अधिकांश लडाकु गाजा र इजरायललाई छुट्याउने सुरक्षा अवरोधहरू तोड्दै उत्तरी इजरायल पुगेका थिए ।
यता हमासले गरेको आक्रमणको बदला लिन इजरायलले सुरु गरेको आक्रमणमा हालसम्म ४२ हजारको मृत्यु भइसकेको छ भने गाजामाथि इजरायली आक्रमण अझै पनि जारी नै छ । इजरायली आक्रमणमा ९६ हजार ७ सय ९४ जना घाइते भएका अलजजिराले जनाएको छ ।
प्यालेस्टिनी अधिकारीहरूका अनुसार १० हजारभन्दा बढी सम्पर्कविहीन छन । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा २३ लाख प्यालेस्टिनी युद्धका कारण विस्थापित भएका छन । संयुक्त राष्ट्रसंघले भने विस्थापितको संख्या १९ लाख रहेको जनाएको छ ।
गाजा क्षेत्रका कम्तीमा ५० प्रतिशत घर, ८० प्रतिशत व्यापारिक भवन, ८५ प्रतिशत विद्यालय, ६५ प्रतिशत सडक सञ्जाल र १७ देखि ३६ वटा अस्पताल ध्वस्त भएका मन्त्रालयले जनाएको छ । इजरायलतर्फ ८ हजार ७ सय ३० जना घाइते भएका जनाइएको छ ।
अतिक्रमित वेस्ट ब्यांकमा ७ सय २३ जनाको ज्यान गएको र कम्तीमा ८ हजार घाइते भएका जनाइएको छ । वेस्ट ब्यांकमा २७ लाख ५० हजार प्यालेस्टिनी र ६ लाख ७० हजार इजरायलीको बसोबास छ । एक वर्षको अवधिमा इजरायलले हमासका प्रमुख इस्माइल हानिया र हिजबुल्लाहका प्रमुख सयैद हसन नसरल्लाहसहित अन्य शीर्ष नेताहरूको पनि हत्या गरेको छ ।
हमासलाई युद्धमा सहयोग गर्ने र समर्थन गर्नेमाथि पनि पछिल्लो समय इजरायलले आक्रमण सुरु गरेको छ । इजरायलले हमास र हिजबुल्लाहको अन्त्य नभएसम्म युद्ध जारी रहने बताएको छ । पछिल्लो एक वर्षको अवधिमा बन्धक बनाइएकाहरूको रिहाई र युद्ध अन्त्यका लागि विभिन्न चरणमा वार्ता भएपनि ठोस निस्कर्स भने निकस्न सकेको छैन ।
गत अप्रिलमा एक साताका लागि अस्थायी युद्धविराम हुँदा दुबै तर्फका केही नागरिकलाई रिहा गरिएको थियो । तर, त्यसपछि पुनः युद्धविराम र बन्धक रिहाइका लागि पहल भएपनि खासै निस्कर्स निस्कन सकेको छैन । यसबीच इजरेली आक्रमणमा केही बन्धकहरुको पनि मृत्यु भएको हमासका अधिकारीहरुले बताएका छन् ।
इजरायली सेनाले नै केही बन्धकहरुको शव फेला पारेको थियो । गाजामा गरेको कारबाही र नाकाबन्दीका कारण इजरायलले अन्तर्राष्ट्रिय न्यायालयमा नरसंहारको मुद्दाको पनि सामना गरिरहेको छ । इजरायलले गाजापट्टीमा १६ वर्षदेखि नाकाबन्दी लगाउँदै आइरहेको छ ।
यस्तै एक वर्षदेखि गाजामा हमासविरुद्ध युद्धमा रहेको इजरायलको आक्रमण पछिल्लो समय लेबनानमा पनि फैलिएको छ । पछिल्ला दिनमा इजरायलले गाजासँगै लेबनानमा पनि भीषण आक्रमण गरिरहेको छ । जसका कारण पश्चिम एसियामा पूर्ण रूपको युद्ध चर्कने त्रास बढ्दो छ ।
हिजबुल्लाहका सैन्य संरचना ध्वस्त पार्न भन्दै गत मंगलबार आईडीएफ स्थलमार्गबाट लेबनान प्रवेश गरेको थियो । त्यसलगत्तै इरानले इजरायलमा एक सय ८० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । करिब एक साता लामो युद्धका क्रममा हेजबुल्लाहका २१ कमान्डरसहित कम्तीमा २ सय ५० लडाकु मारिएको इजरायल टाइम्सले दाबी गरेको छ ।
तीमध्ये ५ जना ‘ब्रिगेड’ तहका कमान्डर रहेका जनाइएको छ । हेजबुल्लाहको आक्रमणमा एक क्याप्टेनसहित ९ जनाको ज्यान गएको आईडीएफले जनाएको छ ।लेबनानी अधिकारीहरूका अनुसार दुई सातायताका आक्रमणमा करिब दुई हजार सर्वसाधारणको ज्यान गइसकेको छ ।
कम्तीमा ३७ गाउँ र सहरमा गरिएको आक्रमणका कारण झन्डै १२ लाख विस्थापित भइसकेका छन । यसअघि आईडीएफले दक्षिणी लेबनानको दहियामा गरेको आक्रमणमा १९९२ देखि हेजबुल्लाहको नेतृत्व गरिरहेका हसन नसरल्लाह मारिएका थिए ।
नसरल्लाह मारिएको भोलिपल्ट हेजबुल्लाहको दक्षिणी मोर्चाका कमान्डर नबिल क्वाउक र कमान्डर अलि कराकी पनि मारिएका थिए । त्यसअघि हेजबुल्लाहले सञ्चारका लागि प्रयोग गर्ने पेजरहरू तथा वाकीटकीहरू लेबनानका विभिन्न स्थानमा विस्फोट भएका थिए ।
ती विस्फोटमा ३७ जनाको ज्यान गएको थियो भने ३ हजार ५ सय घाइते भएका थिए । हिबुल्लाहविरुद्ध लेबनानमा स्थल आक्रमण सुरु गरेपछि इरानले इजरायली भूमिमा १ सय ८० वटा बलिस्टिक क्षेत्रप्यास्त्र प्रहार गरेको थियो ।
ती घटनापछि इजरायल, गाजा र लेबनानमा सीमित युद्ध पश्चिम एसियाभर फैलने त्रास बढेको छ । इजरायलले आफ्ना नागरिकलाई सुरक्षित राख्नका लागि हेजबुल्लाह र हमासजस्ता समूहलाई पूर्ण रूपमा समाप्त गर्नुपर्ने बताउँदै आएको छ ।
तर पछिल्लो समय यमनी सशस्त्र समूह हुथीले पनि इजरायलविरुद्ध आक्रमण गर्न तयार रहेको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघले पटकपटक गाजा र लेबनानमा युद्धविराम गर्नुपर्ने माग गर्दै आएको छ । तर त्यसको प्रतिक्रियामा इजरायलले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।
१० दिनअघि अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बेलायत र कतारले संयुक्त विज्ञप्ति जारी गर्दै गाजामा २१ दिने युद्धविरामका लागि आग्रह गरेका थिए । तर त्यसको प्रतिक्रियामा इजरायली प्रधानमन्त्री नेतान्याहुले लेबनानमा ‘पूर्ण शक्तिका साथ आक्रमण जारी राख्न’ सेनालाई निर्देशन दिएका छन् ।