Nepal Times
Nepal Times
3
Shares

सन्दीपविनानै अमेरिकाविरुद्ध खेल्दै नेपाल, आयो तालिका

सन्दीपविनानै अमेरिकाविरुद्ध खेल्दै नेपाल, आयो तालिका

२८ असोज, काठमाण्डौ।

नेपालले अमेरिकाविरुद्ध खेल्ने तीन खेलको टी– २० सिरिजको खेल तालिका सार्बजनिक भएको छ । नेपालले पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

सबै खेल नेपाली समय अनुसार बिहान ५ः ४५ बजेदेखि शुरु हुने छन् भने यी खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने छ । यसैबीच अमेरिकाले नेपालविरुद्ध खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

अमेरिकी टिममा मोनांक पटेल (कप्तान), एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तवा र यासिर मोहम्मद रहेका छन् ।

नेपाली टिम भने क्यानडा टूर पुरा गरेर अमेरिका पुगिसकेको छ । नेपाली क्रिकेट टीम क्यानडामा लिग २ र त्यसपछिको टी २० सिरिजसहित केही मैत्रीपूर्ण अभ्यास खेल खेलेर अ‍ेमरिका प्रस्थान गरेको छ ।

तर नेपाल राष्ट्रिय टिमका स्टार सन्दीप लामिछाने भने क्यानडाबाट स्वदेश फर्किएका छन् । सन्दीपसँग अमेरिकाको भिसा नभएकाले नेपाल फर्किनुपरेको हो । डेढ महिनाअगाडि अमेरिकी दूतावासमा सन्दीपले गरेको भिसा आवेदन अझै पनि होल्डमा छ ।

यसअघि क्यानडा उड्नु अघि नै भिसाका लागि उनले आवेदन दिएका थिए । क्यान पदाधिकारीहरुले पनि सन्दीपले भिसा पाउने भन्दै अमेरिकामा लिग २ खेल्न पाउने बताएका थिए । तर टीमका सबै खेलाडीलाई अमेरिकाले तत्काल तीन महिनाको भिसा दिए पनि सन्दीपको आवेदन विचाराधीन राखिएको थियो ।

उनी पासपोर्ट फिर्ता लिएर क्यानडा उडेका थिए । अब फेरि अमेरिकी दूतावासमा भिसाको प्रकिया अघि बढाइने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बताएका छन् । महान्यायाधिवक्ता कार्यालयले सन्दीपको मुद्दामा सर्वोच्चमा पुनरावेदन नगर्ने निर्णय गरिसकेको छ ।

सन्दीपले स्वदेश फर्किएर परिवारसँगै विजयमादशमीको टिका लगाएका छन् । टी–२० सिरिजपछि नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच आइसिसी विश्वकप लिग–२ अन्तर्गतका खेल हुनेछन्। लिग–२ मा नेपालले अमेरिकासँग २७ अक्टोबर र २ नोभेम्बर (कात्तिक ११ र १७ गते) तथा स्कटल्यान्डसँग २९ अक्टोबर र ४ नोभेम्बरमा (कात्तिक १३ र १९ गते) खेल्नेछ ।

घरेलु मैदानमा चार खेलमा विजयी भएसँगै यहि संस्करणदेखि लिग–२ मा बढुवा भएको क्यानडा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिग–२ का तीन सिरिजका १२ खेल खेलेको क्यानडाले ८ खेलमा जित निकालिसकेको छ।

अंक तालिकाको शीर्ष टोली बन्दा उसले ८ खेल जित र ४ हार ब्यहोर्दै १६ अंक जोडेको छ। यता नामिबियामा भएको सिरिजका चारै खेल जितेको अमेरिका पनि अंक तालिकाको दोस्रो स्थानमा छ। अमेरिकाले ८ खेलमा ६ जित निकाल्दै १२ अंक जोडेको छ।

अमेरिकासँग समान अंक भएको नेदरल्यान्ड्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। नामिबिया १२ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा छ। उसले १२ मध्ये ५ खेलमा जित र ७ खेलमा हार ब्यहोरेको छ।

यता स्कटल्यान्ड ७ खेलबाट ९ अंक जोड्दै पाँचौ स्थानमा छ भने ओमान ८ खेलबाट ६ अंक बटुल्दै छैटौं स्थानमा छ। नेपाल अंक तालिकाको सातौं स्थानमा छ। नेपालले ८ खेलमा १ खेल मात्र जित निकालेको छ।

१ खेल वर्षाले अवरूद्ध हुँदा नेपालले एक अंक पाएको थियो। नेपालले ३ अंक मात्र जोड्न सकेको छ। नेपाल ६ खेलमा त पराजित भइसकेको छ । अंक तालिकाको पुछारमा रहेको युएईको ७ खेलबाट २ अंक छ । नेपालले विश्वकपमा छनोट हुन्का लागि अब अमेरिकामा पनि चमत्कारिक खेल खेल्नु पर्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.