×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रवि पक्राउ पर्दा धनराज गुरुङ र ऋषिकेश पोखरेल कसरी जोगिए ?

४ कार्तिक २०८१

४ कार्तिक , काठमाण्डौ।

सहकारीको वचत रकम अपचलनमा सम्लग्न भएको आरोपसहित संगठित अपराधको मुद्दा लगाउदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी पक्राउ गरेपछि सहकारीकै ठगी प्रकरणमा जोडिएका भनिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्नुपर्ने आवाज उठेको छ ।

Advertisement
Advertisement

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका हुन् ।

पार्टी सम्बद्ध पत्रकारको संस्था प्रेस सेन्टरले रोल्पाको लिवाङमा शनिबार गरेको पत्रकार भेटघाटमा पुनले त्यस्तै आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने, तर गुरुङ र पोखरेललाई नछुने गर्न नमिल्ने बताएका छन् ।

उनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए । राज्यका निकायले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो ।

‘रवि लामिछानेलाई जस्तै आरोप कांग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ’, पुनले भने, ‘यसमा दोहोरो नहोस् । रवि लामिछानेमाथि जे गरिएको छ, धनराजलाई पनि त्यही होस् ।

प्रधानमन्त्रीको पार्टीका सांसद पोखरेलजीमाथि १८ करोड हिनामिना गरेको आरोप छ । उहाँहरु सत्तापक्षमा भएकाले छानबिन गर्नु नपर्ने, त्यस्तै आरोप लागेका रवि लामिछाने प्रतिपक्षी दलको सभापति भएकाले पक्राउ गरेर थुन्नुपर्छ भन्ने हो भने त्यो प्रतिशोध हुन्छ ।’

उनले सहकारी ठगीमा मुछिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् । ‘कोही ठूलो, कोही सानो, कोही नजिक, कोही टाढा, कोही सत्ता पक्षको, कोही प्रतिपक्षको वा कोही सर्वसाधारण भएका आधारमा राज्यले फरक व्यवहार गर्न मिल्दैन’, उनले भने, ‘जतिसुकै शक्तिशाली व्यक्ति भए पनि सार्वजनिक रुपमा उठेका प्रश्नको नेताहरुले ढिलोचाँडो दिनैपर्छ।’

जतिसुकै बलशाली मानिस भए पनि लोकतन्त्रमा प्रश्न र कानूनभन्दा माथि कोही हुन नसक्ने उनको भनाइ थियो । उनले रास्वपा सभापति लामिछनेलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । लामिछाने सांसद हुनुअघि पक्राउ परेर थुनिएको र दल खोलेर सांसद निर्वाचित भएपछि नागरिकता प्रकरणमा अदालतले बर्खास्त गरेको भन्दै दोस्रोपटक समेत भारी मतले विजयी भएको नबिर्सन उनले औंल्याए ।

‘कसैलाई आरोप लगाउँदैमा अपराधी करार गर्न पाइँदैन । उसले आफ्नो कुरा भन्न पाउँछ । अनुशन्धान र छानबिनबाट जे कुरा पुष्टि हुन्छ, त्यो स्थापित हुन्छ, त्यो समाजले मान्नुपर्छ । कुनै मान्छेमाथि अनुसन्धान गर्दैमा अपराधी भइहाल्ने, कुनै मान्छेलाई छुनै नहुने भन्ने दुवै अतिवादी सोच हुन्’, पुनले भने, रवि लामिछानेजी पहिला पनि गिरफ्तार हुनुभएको हो ।

त्यसपछि पार्टी खोलेर भारी मतले चुनाव जित्नुभयो । फेरि नागरिकता प्रकरणमा सांसद पद गयो । फेरि दोस्रो पटक चुनावमा जाँदा भारी मतले जित्नुभयो । जनताले उहाँलाई अनुमोदन गरेर पठाए । त्यसैले रविजीले अनुशन्धानाई सहयोग गर्नुपर्छ ।’

ललितपुरस्थित मितेरी सहकारीको झन्डै १५ करोड हिनामिना प्रकरणमा प्रत्यक्ष जोडिएका सत्तारूढ कांग्रेसका उपसभापति धनराज गुरुङ राजनीतिक पहुँचले जोगिँदै आएका छन् । सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले पनि उनलाई दोषी ठहर गर्दै कानुनी कारबाहीका लागि सिफारिस गरेको थियो ।

तर, अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गरेको छैन । कांग्रेसकै गृहमन्त्री भएकाले राज्यसंयन्त्र उल्टै धनराजको संरक्षणमा लागेको छ । सहकारीको रकम हिनामिनाको अपराधबाट जोगिन धनराजले पत्नी ज्योति गुरुङसँग ‘कागजी सम्बन्धविच्छेद’ गरेर अर्को अपराध पनि गरेका थिए । जुन पुष्टि भइसकेको छ ।

२९ फागुन ०७६ मै सम्बन्धविच्छेद गरेको सार्वजनिक रूपमा स्पष्टीकरण दिँदै आएका उनले ३ फागुन ०७७ मा मितेरी सहकारीबाटै थप १२ लाख ऋण लिएका थिए, जसमा ज्योतिलाई ‘हकवाला’का रूपमा श्रीमती उल्लेख गर्दै ल्याप्चे लगाएका छन् ।

संसदीय छानबिन समितिसँगको बयानमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पनि उनीहरूको सम्बन्धविच्छेद ‘नाम मात्रको’ भएको बताएका छन् । धनराज र उनकी पत्नी ज्योतिसहित पाँचजनाले करिब १४ करोड ८१ लाख हिनामिना गरेको भन्दै सहकारीले बागमती प्रदेश सहकारी रजिस्ट्रार र प्रहरीमा पनि उजुरी दिएको थियो ।

तर, राजनीतिक दबाबमा रजिस्ट्रार कार्यालयले धनराजको नाम काटेर प्रहरीमा सिफारिस गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङको भनाइ छ । यो संस्थाको २०७० सालसम्मको विवरणमा ज्योति गुरुङ कोषाध्यक्ष तथा वरिष्ठ लेखा अधिकृत रहेको देखिन्छ ।

ज्योति गुरुङ धनराजकी पत्नी हुन् । उनले निकालेको करिब १५ करोड रुपैयाँमा धनराज व्यक्तिगत जमानी बसेको पाइएको छ । त्यस्तै, एमाले सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला पनि मोरङको उमागौरी कृषि सहकारीको १४ करोड ५६ लाख हिनामिना प्रकरणमा प्रत्यक्ष मुछिएकी छिन् ।

सरकारकै दबाबमा उनलाई पनि उन्मुक्ति दिने गरी फाइल अगाडि बढाइएको छ । कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले अञ्जलाको नाम काटेर प्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेको छ, जब कि उनी ६ वर्ष सहकारीको सञ्चालक थिइन् ।

त्यस अवधिसहितको १० वर्षका कागजपत्र नै सहकारीबाट गायब पारिएका छन् । १८ करोड ५१ लाख कुल पुँजी रहेकोे यो सहकारीमा ऋणी र सञ्चालक सदस्यको जग्गाको कागजपत्र धितो राखेर सञ्चालकहरूले विभिन्न व्यावसायिक बैंकबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालेका छन् ।

सहकारीले बचतकर्ताको दुई करोड तीन लाख ५४ हजार पनि फिर्ता गर्न बाँकी छ । बचत र ऋण हिनामिनाबारे पीडितहरूले प्रश्न उठाउन थालेपछि करिब डेढ वर्षदेखि सहकारीमा ताला लगाइएको छ । सहकारीमा करिब पाँच हजार सेयर सदस्य रहेका छन् ।

रवि पक्राउ परेपछि रास्वपाले समेत धनराज र ऋषिकेशलाई तत्काल पक्राउ गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारीहरुलाई आज बुझाइएको ५ बुँदे ज्ञापनपत्रको बुँदा नम्बर ३ मा वास्तविक सहकारी ठग धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई सहकारी ठगीमा हदैसम्मको कारबाही गरी सहकारी पीडितको रकम तुरुन्त फिर्ता गरियोस भनिएको छ ।

प्रहरी हिरासतमा रहेका रविले भने केपी शर्मा ओली नेतृत्वको सरकार रहेसम्म जनताले दुःख पाइरहने भन्दै सरकार ढाल्न घरघरबाट बाहिर निस्किएर लाग्न आह्वान गरेका छन् ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top