५ कार्तिक , काठमाण्डौ ।
महिला साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपल्ट भुटानसँग अंक बाँडेको नेपालले सोमबार (आज) माल्दिभ्ससँग खेल्दै छ । समूह चरणको दोस्रो खेलअन्तर्गत नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माल्दिभ्ससँग खेल्न आँटेको हो ।
समूह ‘बी’ बाट सेमिफाइनल पुग्नका लागि नेपाललाई माल्दिभ्स र श्रीलंकासँगका खेल निकै महत्त्वपूर्ण हुने छ । भुटानसँगको खेलमा घाइते भएकी डिफेन्डर हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले अब पूरा प्रतियोगिता खेल्न नसक्ने भएका छन् ।
एसिएल चोटका कारण करिब नौ महिना मैदानबाहिर रहनुपर्ने भएका उनीहरू आइतबारको प्रशिक्षणमा पनि उपस्थित हुन सकेनन्, जसबाट टिम निराश छ । तर, ‘गोल मेसिन’ का नामले परिचित फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’स्वदेश फर्किएकी छन् ।
फ्रान्समा रहेर व्यवसायिक फुटबल खेलिरहेकी साम्बाको आगमनले टिमले केही राहत महसुस गरेको छ । साम्बाले चाहेमा उनलाई माल्दिभ्ससँगको खेलबाटै मैदान प्रवेश गराउने तयारी मुख्य प्रशिक्षक राजेन्द्र तामाङको छ ।
तामाङले १२ घण्टाको विश्रामपछि सावित्राले चाहेको अवस्थामा खेल्न सक्ने पनि बताएका छन् । इएन अभान्ट गुईग्याम्पबाट फ्रान्स शीर्ष श्रेणीको महिला लिग फुटबल खेलिरहेकी साम्बाले भने क्लब ड्युटीका कारण साफमा नेपाल र भुटानबीचको पहिलो खेल गुमाएकी थिइन् ।
जुन, खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।पहिलो खेलमा भुटान विरुद्ध नेपाल फिनिसिङमा चुक्दा साम्बाको अभाव देखिएको थियो । यसअघिका चार भेटमा नेपाल भुटानविरुद्ध एकपक्ष रूपमा हाबी रहँदै आएको थियो ।
नेपालले साफका चार भेटमा भुटानको पोस्टमा २३ गोल गरेको थियो । जसमा सावित्रा एक्लैले ९ गोल गरेकी थिइन् । त्यसैले पनि नेपाली टोलीले भुटानविरुद्ध सावित्राको अभाव महसुस गरेको थियो । नेपाल र माल्दिभ्सबीचको खेल साँझा ५ः३० बजेबाट सुरु हुनेछ ।
त्यसअघि दिउँसो १ः३० बजे श्रीलंका र भुटानले खेल्ने छ । समूह ‘बी’ मा तीन अंकसहित शीर्ष स्थानमा रहेको श्रीलंका दोस्रो जितको खोजीमा हुने छ । यसअघि उसले माल्दिभ्सलाई १–० गोलले हराएको थियो । नेपालसँग बराबरी खेल्न सफल भुटान भने पहिलो जितको खोजीमा छ ।
भुटान एक अंकसहित तालिकाको दोस्रो स्थानमा छ । साफ महिला च्याम्पियनसिपमा नेपाल भारतपछिको दोस्रो सफल टिम हो । नेपालले चार पटक फाइनल खेल खेलेको भए पनि उपाधि भने जित्न सकेको छैन ।
फिफा वरीयतामा नेपाल ९८औं स्थानमा छ भने माल्दिभ्स १६१ औं स्थानमा छ । माल्दिभ्सले महिला साफअन्तर्गत सन् २०१६ मा सेमिफाइनल पुग्नुभन्दा बढी केही उपलब्धि हासिल गर्न सकेको छैन ।
बंगलादेशमा भएको पहिलो संस्करणमा भारतले नेपाललाई १–० गोलले हराउँदै उपाधि जितेको थियो भने श्रीलंकामा भएको दोस्रो संस्करणमा भारतले नेपाललाई ३–१ गोलले हराएको थियो । पाकिस्तानमा भएको तेस्रो संस्करणको उपाधि भिडन्तमा नेपालले भारतसँग ६–० गोलको लज्जास्पद हार बेहोरेको थियो ।
चौथो संस्करण भारतमा भएको थियो, जहाँ नेपाल सेमिफाइनलसम्म पनि पुग्न पाएन । त्यसबेला घरेलु टोलीले बंगलादेशलाई ३–१ गोलले हराउँदै उपाधि घरमै राख्यो । पाँचौं संस्करणयता महिला साफ नेपालमै हुँदै आइरहेको छ ।
सन् २०१९ मा भएको पाँचौं संस्करणमा आयोजक नेपाललाई ३–१ गोलले हराउँदै भारतले उपाधि छिन्यो । अघिल्लो संस्करणमा भने घरेलु टिम नेपाल बंगलादेशसँग ३–१ गोलले नै हा¥यो । अब, यसपालि भने नेपालले उपाधि घरमै राख्ने योजना बनाएको छ ।
कात्तिक १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको समूह ‘ए’ मा साबिक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक नेपालसहित माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन् ।
प्रतियोगिताको अनुमानित बजेट चार करोड ६० हजार आठ सय रुपैयाँ रहेको छ। नेपालमा लगातार तेस्रोपटक महिला साफ च्याम्पियनसिपको आयोजना हुँदै छ । यसअघि सन् २०१९ र २०२२ मा नेपालमै साफ आयोजना भएको थियो । सन् २०१० देखि प्रत्येक दुई–दुई वर्षमा साफ च्याम्पियनसिप हुँदै आएको छ ।