८ कार्तिक , एजेन्सी ।
न्युजिल्यान्डका अलराउन्डर जेम्स नीशमले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । न्युजिल्यान्डका अलराउन्डर नीशमलाई टोलीमा अनुबन्ध गरेको जनकपुर बोल्ट्सले जनाएको छ ।
उनले न्युजिल्यान्डका लागि ७९ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९ सय ४४ रन बनाउनुका साथै ३९ विकेट लिएका छन् । अलराउन्डर नीशमले इन्डियन प्रिमियर लिग (आईपीएल), द हन्ड्रेड, बिग बाश लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग लगायतका चर्चित फ्रेन्चाइज लिग पनि खेलेका छन् ।
नीशम एनपीएल खेल्न नेपाल आउने टेस्ट राष्ट्रका दोस्रो खेलाडी बनेका छन् । यसअघि कर्णाली याक्सले पाकिस्तानका हुसेन तलातलाई भित्र्याएको थियो । यस्तै इङ्लिस क्रिकेटर सेफ अलि जेब पनि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।
२६ वर्षीय बायाँ हाते अलराउन्डरसँग काउन्टी क्रिकेटको भरपुर अनुभव छ । गत महिना सम्पन्न इङ्ल्यान्डको टी २० घरेलु प्रतियोगितामा नर्थान्ट्सबाट खेलेका सेफले काउन्टीको दोस्रो श्रेणीमा पनि नियमित खेल्दै आएका छन् ।
सन् २०१५ मा १६ वर्षको उमेरमा पहिलो श्रेणी क्रिकेटमा डेब्यु गरेपछि इङ्ल्यान्डका लागि उमेर समूह क्रिकेट पनि खेलेका थिए । टी२० करिअरमा १ सय ४० भन्दा माथिको स्ट्राइक रेटमा १२ सय रन जोडेका उनले पार्ट टाइम बलिङ गर्दै ३३ को औसतमा १२ विकेट लिएका छन् ।
रोयल्सले यसअघि पहिलो विदेशी खेलाडीको रुपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्वक्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा छन् ।
दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । यसैबीच नन्दन फाडनिस लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
लुम्बिनीले मुख्य प्रशिक्षकमा फाडनिसलाई नियुक्त गरेको बिहीवार एक विज्ञप्ती जारी गर्दै बताएको छ । फाडनिस केही समय यता नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा आबद्ध रहेका छन् ।
रोहित पौडेलको कुशल नेतृत्वमा लुम्बिनीले विजयी हासिल गर्नेमा आफु विश्वस्त रहेको फाडनिसले बताएका छन् । फाडनिसले भारतको गोवा क्रिकेट संघमा तथा भारतको राष्ट्रिय क्रिकेट एकेडेमिमा समेत प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।
लुम्बिनीको कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा शक्ति गौचन रहेका छन् । लुम्बिनीले पहिलो विदेशी खेलाडीको रुपमा विकेटकिपर तथा बायाँ हाते ब्याटर टम मुर्सलाई टोलीमा अनुबन्ध गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा लुम्बिनी लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए ।