रास्वपाले आज पनि सडक तताउने

रास्वपाले आज पनि सडक तताउने

११ कार्तिक , काठमाण्डौ ।

सभापति पक्राउको विरोधमा पहिला पोखरा र अहिले काठमाडौंमा प्रदर्शन केन्द्रित गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गरेको छ । साथै दुई उपसभापतिलाई पनि भिन्दाभिन्दै जिम्मेवारी दिएको छ, यस्तै आज पनि विरोध प्रदर्शन जारी राख्ने निर्णय गरेको छ ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् ।

यस्तै रास्वपाले आज पनि सडक आन्दोलनलाई जारी राख्ने भएको छ । झाले दिएको जानकारी अनुसार आज माइतीघर मण्डलामा पार्टीले आन्दोलन गर्ने भएको हो । दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा आन्दोलन गर्ने उनले जानकारी दिएका छन् ।

‘हिजो बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट भएको निर्णय अनुसार आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिइनेछ’ उनले भने । सहकारीको बचत अपचलनमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीले निरन्तर सडक आन्दोलन गर्दै आएको छ ।

यसैबीच रास्वपाले सभापति हिरासतमा पुगेपछि पार्टीको अगुवाई कसले गर्छ भन्ने अन्यौलका बीच स्वभाविक दाबेदारसमेत रहेका दुवै उपसभापतिलाई बेग्लाबेग्लै जिम्मेवारी दिएको छ ।

केन्द्रीय समिति बैठकले उपसभापतिद्वय डोलप्रसाद अर्याल (डिपी) र स्वर्णिम वाग्लेलाई कामको जिम्मेवारी तोकेको हो । गत कात्तिक २ गते पक्राउ परेका सभापति लामिछानेले कार्यवाहक सभापतिको जिम्मा कसैलाई पनि तोकेका छैनन् ।

सभापति लामिछाने पक्राउपछि रास्वपाले पोखराकेन्द्रित आन्दोलन गर्दै आएको छ भने काठमाडौंलगायत ठाउँमा पनि प्रदर्शन भएका छन् । तर सभापति पक्राउ परेपछि रास्वपाका नियमित गतिविधि भने ठप्पजस्तै थिए ।

त्यसैले शनिबार बसेको केन्द्रीय समितिले उपसभापतिहरूलाई कामको जिम्मेवारी दिनेदेखि केही निर्णयहरू गरेको छ । कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार आन्दोलन सञ्चालन गर्न उपसभापति अर्यालको नेतृत्वमा सात प्रदेश सभापतिहरू रहने आन्दोलन सञ्चालन मूल समिति गठन गरिएको छ।

सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण पक्राउ गरिएको भन्दै रास्वपाले आन्दोलनलाई निरन्तरता दिने बताएको छ । यस्तै अर्का उपसभापति वाग्लेलाई राजनीतिक नागरिक संवादको जिम्मेवारी दिइएको छ ।

आवश्यक उपसमितिहरू गठनको अख्तियारी पनि वाग्ले संयोजकत्वको समितिलाई केन्द्रीय समितिले अधिकार दिएको छ । रास्वपाले स्थगित रहेका जिल्ला भेला, सांगठानिक र पार्टी गतिविधि सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।

यसैगरी राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने निर्णय गरेको छ । स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन पनि दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.