१८ कार्तिक , एजेन्सी ।
घरेलु टोली भारतविरुद्धको तीन टेस्टको क्रिकेट श्रृंखलामा न्युजिल्याण्डले ह्वाइट वास गरेको छ । भ्रमणकारी टोली न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टेस्टमा भारतलाई आइतबार २५ रनले पराजित गरेको छ ।
मुम्बईको वानखडे स्टेडियममा जितका लागि १४७ रनको लक्ष्य पछ्याएको भारत १२१ रनमै समेटिएको थियो । सन् २००० यता घरेलु शृंखलामा भारत ह्वाइटवास भएको यो नै पहिलो पटक हो । तीन टेस्टको शृंखलामा न्युजिल्यान्ड ३–० ले विजयी रह्यो ।
तेस्रो दिन झिनो लक्ष्य पाएको भारतका लागि ऋषव पन्तलाई छाडेर अरू केही पनि ब्याटरले गतिलो योगदान दिन सकेनन् । उनले ६४ रन बनाए । यस्तै दोहोरो अंक छुने अन्य ब्याटरमा कप्तान रोहित शर्माले ११ र वासिङटन सुन्दरले १२ रन बनाए ।
पूरा घरेलु टिम २९.१ ओभर मात्रै टिकेको थियो । पाहुना बलरमध्ये एजाज पटेलले ५७ रनमा छ विकेट लिए । यस्तै ग्लेन फिलिप्सले तीन र म्याट हेनरीले एक विकेट लिए । न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा २ सय ३५ रन बनाएपछि भारतले जवाफमा २ सय ६३ रन बनाएको थियो ।
न्युजिल्यान्ड आफ्नो दोस्रो इनिङ्समा १ सय ७४ रन बनाएर अलआउट भएको थियो । यसअघि खेलिएको पहिलो टेस्टमा न्युजिल्याण्ड ८ विकेटले विजयी भएको थियो । त्यसपछि दोस्रो टेस्टमा पनि भ्रमणकारी टोली न्युजिल्याण्डले भारतलाई ११३ रनले हराएको थियो ।