१९ कार्तिक, काठमाण्डौ ।
नेपालमा अहिले पश्चिमी र स्थानीय वायुसँगै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । जसका कारण आज पनि देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कतै –कतै हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अपराह्नपछि काठमाडौंमा पनि वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंका विभिन्न ठाउँमा दुई÷तीन घण्टा वर्षा हुनेछ । हिजो बागमती र कोशी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भएको थियो । भोलिदेखि मौसममा क्रमिकरुपमा सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् ।
यद्यपि, भोली मंगलबार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान, बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै बुधबार दिउँसो भने देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
यसैबीच देशैभर चिसो बढ्न थालेको छ । यसैहप्तादेखि चिसो थप बढ्ने मौसमविद्ले बताएका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नोभेम्बर ९ तारिखपछि तीन डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्न सक्ने बताए ।
चिसोका कारण दम, रुघाखोकी, ज्वरोलगायतका समस्या हुने भएकाले आवश्यक सतर्कता अपनाउन जनस्वास्थ्यविद्ले सुझाव दिएका छन् ।