२० कार्तिक , काठमाण्डौ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको हो ।
हावाहुरी र वर्षाका कारण हिजोको खेल रद्द भएपछि स्कटल्यान्ड र नेपालले एक÷एक अङ्क बाँडेका छन् । खेल नहुँदा प्रतियोगितामा कमजोर सावित भएको नेपाललाई एक अंक राहतमा प्राप्त भयो ।
टस जितेर स्कटल्यान्डले पहिले बलिङको निर्णय गरेको थियो । यसक्रममा ६ ओभरको खेल मात्रै सम्भव भएको थियो । त्यसमा नेपाली ओपनर अनिल साह १९ बलमा १० रन बनाएर ब्राड करीको बलमा एलबीडब्लू भए ।
नटआउट रहेका दुई ब्याटरमध्ये अर्का ओपनर आसिफ सेखले ९ रन बनाए भने कुशल भुर्तेलले खाता पनि खोलेनन् । नेपाल १२ खेलमा २ मा जित, ८ मा हार र २ खेल रद्द हुँदा ६ अङ्कका साथ सातौँ स्थानमा छ ।
स्कटल्याण्ड ११ खेलमा १४ अङ्कसहित तेस्रो स्थानमा छ । अमेरिका १२ खेलमा १६ अङ्ककासाथ शीर्ष स्थानमा छ । क्यानडा पनि १२ खेलमा १६ अङ्कसहित रनरेटका आधारमा दोश्रो स्थानमा छ । अमेरिकामा घरेलु टोली, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय एकदिवसीय शृङ्खला भएको हो ।
नेपालले अव लिग २ मा २०२५ मे मा स्कटल्यान्डमा गएर खेल्नेछ । उक्त सिरिजमा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।