३ मंसिर,काठमाण्डौ।
यही मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा राजनीतिक दल र स्वतन्त्रबाट गरेर ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा भित्र विभिन्न राजनीतिक दलबाट २८९ र स्वतन्त्रबाट १२१ गरेर ४१० जनाको उम्मेदवारी दर्ता भएको हो ।
जसमा ६४ जना महिला, ३४१ जना पुरुष र २ जना यौनिक तथा लैंगिक अल्पसंख्यकको उम्मेदवारी दर्ता भएको आयोगका सहसचिव एवम प्रवक्ता निता पोखरेलले बताएकी छन् । आयोगका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला, ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा १ जना पुरुष उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । यस्तै गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी ३२३ जनाको मनोनयन दर्ता भएको छ ।
उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा बढी धनुषाको धनुषाधाम नगरपालिका १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका २ को वडा अध्यक्ष पद र बझांगको सुर्मा गाउँपालिका ४ को वडाध्यक्ष पदमा तीन तीन जनाको मनोनयन दर्ता भएको छ ।
यो उपनिर्वाचनमा सबैभन्दा बढी चासो कीर्तिपुरको प्रमुखमा छ । कीर्तिपुरमा प्रमुख तथा १ र ४ नम्बर वडाको अध्यक्षका लागि चुनाव हुनेछ । कांग्रेसबाट प्रमुखमा विजयी भएका राजकुमार नकर्मीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
प्रमुखमा २० जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन । स्वतन्त्र उम्मेदवारी दिनेमा नवरथकुमार बानियाँ, राजमान महर्जन, रामकृष्ण महर्जन, मिम महर्जन, प्रेमबहादुर महर्जन, दिनेशकुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर, कविकुमार महर्जन, नरेशराज पाण्डे र आनन्द महर्जन छन ।
यहाँ चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने संभावना छ । यो उपनिर्वाचनलाई दलहरुको परीक्षाका रुपमा हेरिएको छ भने स्वतन्त्र उम्मेदवारहरुबाट यसअघिका स्वतन्त्र रुपमा उम्मेदवार बनेर विजयी हुँदै कामकै आधारमा उदाहरणीय बनेका बालेन्द्र शाह, हर्क साम्पाङ, गोपाल हमाल लगायतका जनप्रतिनिधिको अपेक्षा गरिएको छ ।
गएको स्थानीयतहको निर्वाचनमा उनीहरु काठमाडौं, धरान र धनगढीमा विजयी भएका थिए । यस्तै उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको छ, जसमध्ये एक स्वतन्त्र उम्मेदवार छन् ।
दैलेखको महाबु गाउँपालिका अध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखका लागि ६ जनाको उम्मेदवारी परेको छ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको छ ।
रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदमा ७ जनाले मनोनयन दर्ता गराएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ ।
काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा १९ जनाको उम्मेदवारी परेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ को अध्यक्षका लागि १४, कीर्तिपुर–४ को अध्यक्षका लागि १३ र कीर्तिपुर–१ को अध्यक्षका लागि ९ जनाले उम्मेदवारी दिएका छन् ।
नुवाकोटको ककनी गाउँपालिका–२ को अध्यक्षमा ११, सुनसरीको गढी गाउँपालिका–६ को अध्यक्षमा १४, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को अध्यक्षमा २० जना उम्मेदवार छन् । रौतहटका ईशनाथ नगरपालिका–७ को अध्यक्षका लागि १५, राजपुर नगरपालिका–६ को अध्यक्षका लागि १४ उम्मेदवार छन् ।
रौतहटकै गढिमाई नगरपालिका–८ को अध्यक्षका लागि १६ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को अध्यक्षका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गुल्मीको मुसीकोट–१ को वडाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । गोरखा नगरपालिका–५ को वडाध्यक्षमा १० जना उम्मेदवार छन् ।
निर्वाचन आयोगले तय गरेको उपनिर्वाचनको कार्यतालिका अनुशार अब आज मंसिर ३ मा १० देखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, मंसिर ४ मा अपराह्न ५ बजेसम्म उजुरीमाथि जाँचबुझ तथा निर्णय गरी ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
त्यस्तै, मंसिर ५ मा उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर १६ मा मतदान हुनेछ ।
स्थानीय तह उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । संघीय सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, स्थानीय तह, तीनवटै तहका कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल र सम्बद्ध कार्यकर्ता, उम्मेदवारलगायतका लागि निर्वाचन आचारसंहिता लागू गरिएको हो ।
आयोगले उपनिर्वाचन हुने स्थानीय तहबाहेकमा आचारसंहिताले निषेध गरेका कार्य गर्नु÷गराउनुपरेमा आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आचारसंहितामा उल्लेख छ ।