९ मंसिर , एजेन्सी ।
इंग्ल्यान्डका स्टार ह्यारी केन जर्मन बुन्डेसलिगामा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडी बनेका छन् । घरेलु मैदानमा बायर्न म्युनिखले असबर्गलाई ३–० गोलअन्तरले पराजित गर्दा केनले ह्याट्रिक गरेका थिए । योसँगै उनी बुन्डेसलिगामा छिटो ५० गोल गर्ने खेलाडी बनेका हुन् ।
इंग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका केनले दुई गोल पेनाल्टीमा गरेका थिए । खेलको ६३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका उनले इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल पनि पेनाल्टीमा नै गरेका थिए ।
इन्ज्युरी समयको पाँचौं मिनेटमा अर्को गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । केनले बुन्डेसलिगाको ४३ खेलमा ५० गोल पूरा गरेका हुन् । उनले अर्लिङ हालान्डको नाममा रहेको कीर्तिमान तोडेका हुन् । हाल म्यानचेस्टर सिटीमा रहेका हालान्डले बोरुसिया डर्टमन्डबाट खेल्दा ५० खेलमा ५० गोल गरेका थिए ।
केनले गत सिजन लिगका ३२ खेलमा ३६ गोल गरेका थिए, जुन टोटनह्यामबाट अनुबन्धित भएपछि बायर्नमा उनको पहिलो सिजन थियो । सन् २०१२ पछि बायर्नले उपाधि जित्न असफल भएको पनि यो पहिलो सिजन थियो ।
उक्त सिजन बायर लेभरकुजेनले अपराजित रहँदैं बायर्नको विजयी यात्रामा विश्राम लगाएको थियो । यस सिजन लिगमा १४ गोल गर्नुका साथै केनले च्याम्पियन्स लिगमा पाँच र जर्मन कपमा एक गोल गरेका छन् ।
जारी सिजनमा अहिलेसम्म ११ खेलमा अपराजित रहने क्रममा ९ जित र दुई बराबरी खेलेको बायर्न २९ अंकसहित शीर्षस्थानमा छ । पराजित असबर्गको १२ अंक मात्र रहेको छ ।
ह्यारी केन इंग्ल्यान्डको सबैभन्दा चर्चित फुटबल खेलाडीहरूमध्ये एक हुन्। उनी स्ट्राइकरका रूपमा खेल्छन् र हाल जर्मन क्लब बायर्न म्युनिख र इंग्ल्यान्डको राष्ट्रिय टोलीका लागि खेल्छन्। केनको जन्म २८ जुलाई १९९३ मा लन्डनमा भएको थियो।
उनी टोटेनहम हट्सपर क्लबको एकेडेमीबाट आएका हुन् र त्यहाँकै लागि उनले उत्कृष्ट प्रदर्शन गर्दै स्टार खेलाडी बने। टोटेनहममा रहँदा उनले २०१५–१६ र २०१६–१७ को प्रिमियर लिग सिजनमा गोल्डेन बुट जिते।
उनले २०१८ को फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै ६ गोल गरेर गोल्डेन बुट जितेका थिए। उनले फाइनल खेलमा गोल गरेका फ्रान्सका खेलाडीद्वय एन्टोइन ग्रिज्मन र किलियन एम्बाप्पेलाई २ गोलले पछाडि पार्दै उपाधि जित्न सफल रहे ।
केन गोल्डेन बुट जित्ने इंग्ल्यान्डका दोस्रा खेलाडी हुन् । यसअघि ग्यारी लिनेकरले ३२ वर्षअगाडी भएको विश्वकपमा गोल्डेन बुट जितेका थिए । केनले प्रतियोगिताको पहिलो खेलमा ट्युनिसियाविरुद्ध दुई गोल गर्दै उत्कृष्ट सुरुआत गरेका थिए ।
दोस्रो खेलमा पानामासँग ह्याट्रिक गरेका उनले समूह चरणको अन्तिम खेलमा भने विश्राम पाए । त्यसपछि अन्तिम १६ को खेलमा उनले कोलोम्बियाविरुद्ध पेनाल्टीबाट गोल गर्दै गोल संख्या ६ पुर्याएका थिए ।
इंग्ल्यान्डलाई २०२० को युरो कपको फाइनलमा पुर्याउन उनले महत्त्वपूर्ण भूमिका खेले। केन आफ्नो शक्तिशाली फिनिशिङ, रणनीतिक दृष्टिकोण, र नेतृत्व क्षमताका कारण चर्चित छन्। २०२३ मा, उनले बायर्न म्युनिखमा स्थानान्तरण गर्दै नयाँ अध्याय सुरु गरे। उनले इंग्ल्यान्डका लागि ८० भन्दा बढी खेल खेल्दै राष्ट्रिय टोलीको सर्वाधिक गोलकर्ता बनेका छन्।