१० मंसिर , काठमाण्डौ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका तय भएको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सङ समेतको छलफलमा परराष्ट्र मन्त्रालयले भ्रमण तालिका निश्चित गरेको हो । राजदूत सङले आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवासँग परामर्श गरेका थिए ।
परराष्ट्र मन्त्रालयले तयार पारेको प्रस्तावित भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली मंसिर १७ गते चीन प्रस्थान गर्नेछन् । १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।
सोही क्रममा दुई देशबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत हुनेछ । यसैगरी मंसिर १९ गते बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने, नेपाली तथा चिनियाँ उद्योगी व्यवसायीहरुसँगको छलफलमा सहभागी हुने र २० गते स्वदेश फर्किने गरी प्रधानमन्त्रीको भ्रमण तालिका प्रस्ताव गरिएको छ ।
प्रधानमन्त्री ओलीभन्दा केही दिन अगाडि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन जाने तयारी छ । सम्भवतः परराष्ट्रमन्त्री राणा १३ गते नै बेइजिङ जानेछिन् । उनले १४ गते चिनियाँ समकक्षी वाङ यीसहित चिनियाँ नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
यद्यपि, यो परराष्ट्र मन्त्रालयले तयार पारेको प्रस्तावित तालिका हो । अब मन्त्रिपरिषद बैठकले पारित गर्न बाँकी छ । त्यसैले यसमा केही हेरफेर र कार्यक्रम थपघट पनि हुनसक्छ । यसैबीच ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् ।
यो छलफलमा पूर्वप्रप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने सहभागी भएका छैनन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका डा. भट्टराईले आफू गृहजिल्ला गोरखा जान लागेकाले चीन भ्रमणका सन्दर्भमा प्रधानमन्त्री ओलीले बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समार्फत आफू छलफलमा सहभागी हुन नसक्ने जानकारी गराउँदै केही सुझाव भने दिएका छन् । भट्टराईले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको स्मरण गराउँदै चीन भ्रमणका क्रममा यो कुरा ख्याल राख्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।
यस्तै उनले दुई उदीयमान र प्रतिस्पर्धी शक्ति चीन र भारतबीचमा रहेको देश नेपालको विशिष्ट भूरणनीतिक, भूआर्थिक र भूराजनीतिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।
डा. भट्टराईले हाम्रो कमजोर अर्थतन्त्रलाई कमभन्दा कम समयमा विकसित चरणमा पु¥याउन वैदेशिक व्यापार, पुँजी, प्रविधि, ज्ञान र सद्भाव आवश्यक रहेको उल्लेख गर्दै चीनको बीआरआईबाट फाइदा उठाउनै पर्नेमा जोड पनि दिएका छन् ।
प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नपाएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए । यता परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पनि जापान नगई सिधै चीन भ्रमणमा जाने भएकी हुन् ।
स्वास्थ्य परीक्षणका लागि जापान जाने तयारीमा रहेकी मन्त्री राणा जापान नगई सिधै १३ मंसिरमा चीन जाने भएकी हुन् । यसअघि मन्त्री राणाको आजै जापान प्रस्थान गर्ने कार्यतालिका थियो । काठमाडौँबाट आज जापान प्रस्थान गर्ने र त्यहाँबाट १४ मंसिरमा चीन पुग्ने मन्त्री राणाको कार्यक्रम थियो । अब जापान नजाने भएपनि मन्त्री राणा चीन भ्रमणमा भने जानेछिन् ।