११ मंसिर , एजेन्सी ।
साउदी अरेबियाको जेद्दाहमा दुई दिन चलेको इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सन सम्पन्न भएको छ । लिलामीमा १८२ खेलाडी बेचिएका छन्, जसमध्ये ६२ भारत बाहिरका खेलाडी छन् । १० फ्रेन्चाइजीले ६३९.१५ करोड रुपैयाँ खर्च गरेका छन् ।
अक्सनमा राइट टु म्याच ८ पटक प्रयोग भएको थियो । ऋषभ पन्त इतिहासकै सबैभन्दा महँगा खेलाडी बने, उनलाई लखनऊ सुपर जाइन्ट्स (एलएसजी)ले २७ करोडमा किनेको हो । अष्ट्रेलियाविरुद्ध १३ वर्षको उमेरमा यू–१९ मा शतक प्रहार गरेका बिहारका बायाँ हाते ब्याट्सम्यान वैभव सूर्यवंशी आईपीएलको सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।
वैभवलाई राजस्थान रोयल्स (आरआर)ले एक करोड १० लाखमा किनेको छ । १३ वर्षका अनक्याप्ड ब्याट्सम्यान सूर्यवंशी आईपीएलमा करोडपति बन्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । बिहारका युवा सूर्यवंशीले गत महिना अष्ट्रेलियाविरुद्धको यू–१९ युवा टेस्ट म्याचमा धमाल मच्चाएका थिए ।
बायाँ हाते ब्याट्सम्यान ओपनर सूर्यवंशीले मात्र ५८ बलमा शतक बनाएर रेकर्ड बनाए। सूर्यवंशी भारतका सबैभन्दा छिटो टेस्ट शतक बनाउने खेलाडी हुन्।
वैभवसहित आईपीएलमा खेल्ने पाँच युवा खेलाडीमा :
प्रयास रे बर्मन– १६ वर्ष १५७ दिन–आरसीबी
मुजीब उर रहमान– १७ वर्ष ११ दिन – पंजाब किंग्स
रियान पराग– १७ वर्ष १७५ दिन राजस्थान रोयल्स
सरफराज खान– १७ वर्ष १७७ दिन आरसीबी
अभिषेक शर्मा– १७ वर्ष १७७ दिन दिल्ली क्यापिटल्स।
वैभव सूर्यवंशी जब बिहारका लागि मात्र १२ वर्षको उमेरमा प्रथम श्रेणीमा डेब्यू गरेपछि चर्चामा आएका थिए । बिहारको समस्तिपुर जिल्लाका बासिन्दा वैभव आफ्नो आँधीबेहरी ब्याटिङका लागि परिचित छन्। उनी घरेलु क्रिकेटमा ब्याटसँग स्थिर छन्। यसैकारण उनलाई भारतीय टोलीमा छनोट गरिएको थियो।
यता आईपीएलमा शीर्ष पाँच सबैभन्दा महँगो खेलाडीहरू भारतका छन् । पहिलो पटक दुई खेलाडीको बोली २५ करोड नाघेको छ । आईपीएल च्याम्पियन कप्तान डेभिड वार्नर र भारतीय अलराउन्डर शार्दुल ठाकुरले खरिदकर्ता पाउन सकेनन् ।
इङ्ल्यान्डका अलराउन्डर साम करनको मूल्य १६.१० करोडले घटेको छ । भारतका वेंकटेश अय्यर र अफगानिस्तानका नूर अहमदको मूल्य बढेको छ । कलकाताले वेंकटेशलाई २३.७५ करोडमा किनेको छ, उनी गत सिजन केकेआरबाट खेलेका थिए। तर, त्यतिबेला उनको पारिश्रमिक ८ करोड मात्र थियो, यसपटक भने उनले ३ गुणा बढी रकम पाएका छन् ।
इंग्ल्याण्डका विल ज्याकलाई मुम्बईले ५.२५ करोडमा र अफगानिस्तानका नूर अहमदलाई चेन्नईले १० करोडमा किनेको छ । ज्याकले गत सिजन आरसीबीका लागि ८ खेलमा १७५.५७ को स्ट्राइक रेटमा २३० रन बनाएका थिए।
अफगानिस्तानका नूरलाई चेन्नईले लिलामीमा ५ करोड भारुमा बोलाएको थियो । यहाँ गुजरातले आरटीएम प्रयोग गर्यो। चेन्नईलाई फाइनल बिड गर्न भनिएको थियो, टोलीले सीधै १० करोड भारु बोली लगायो। नूर गत सिजन ३० लाखमा बिक्री भएका थिए ।
यस पटक उनको तलब झण्डै ३३ गुणाले बढेको छ । साम करनको मूल्य ७.७ गुणाले घटेको छ । स्टार्क पनि आधा मूल्यमा आए, जसले २०२३ को मिनी लिलामीमा सबैभन्दा बढी मूल्य पाएका थिए । १८.५० करोड भारुमा बिक्री भएको सामको मूल्य यसपटक ७.७ गुणाले घटेको छ ।
करणलाई सीएसकेले मात्र २.४० करोडमा किनेको छ । स्टार्कलाई केकेआरले गत सिजन २४.७५ करोडमा किनेको थियो । यस पटक उनलाई दिल्लीले ११.७५ करोडमा किनेको छ । उनको मूल्य ४७.६९ प्रतिशतले घटेको छ ।