१३ मंसिर , काठमाण्डौ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन जाँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको तयारीका लागि उनी चीन जाने भएकी हुन् । उनी आज दिउँसो १२ बजेर २० मिनेटको उडानबाट सिचुआन प्रान्तको राजधानी छेङ्दु प्रस्थान गर्दैछिन् ।
उनले भोलि चीनका विदेशमन्त्री वाङ यीसँग छेन्दु शहरमा भेटवार्ता गर्ने कार्यक्रम छ । उनीहरुबीच बृहत् रुपमा समान चासोको विषय तथा प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणको तयारीबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा आज छेन्दु पुगेर पर्सि शनिवार काठमाण्डौ फर्कनेछन् । त्यसपछि प्रधानमन्त्री ओलीसँग यही मङ्सिर १७ गतेदेखि २१ गतेसम्म फेरि चीन भ्रमण गर्नेछिन् । प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन् ।
ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । नेपालबाट प्रधानमन्त्रीस्तरीय चीन भ्रमणको तयारी चलिरहेका बेला मुख्य एजेण्डाको रुपमा हेरिएको चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई) सम्बन्धी कार्यक्रम कार्यान्वयनमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले साझा धारणा बनाउन सहमति निकट पुगेका छन् ।
बीआरआई कार्यान्वयन योजनामा चीनले प्रस्ताव गरेको मस्यौदालाई समीक्षा गरी नेपालले प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने तयारी अनुसार दुई दलका नेताहरुको संयुक्त बैठक बुधबार बेलुका बसेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ‘बीआरआई कोअपरेसन फ्रेमवर्क’ तयार गर्ने र त्यसलाई दीर्घकालीन राष्ट्रिय नीतिको रुपमा अवलम्बन गर्नेबारे नेताहरुबीच छलफल भएको थियो । बैठकमा ठोस निर्णय भएको छैन तर नेताहरुले छलफल सकारात्मक भएको र सहमति नजिक पुगेको दाबी गरेका छन् ।
छलफलका विषयलाई दस्ताबेजीकरण गर्न र फ्रेमवर्कको मस्यौदा बनाउन दुवै दलका नेता सम्मिलित कार्यदल गठन गरिएको छ । कार्यदलमा एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा र नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा छन् ।
कार्यदललाई विज्ञको सुझावका आधारमा मस्यौदा तयार गर्ने जिम्मा दिइएको बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले जानकारी दिए । यसअघि यही कार्यदलले बीआरआई कार्यान्वयन योजनाबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक चीन भ्रमणमा जाँदै गर्दा बीआरआई कार्यान्वयन गर्ने कि नगर्ने भन्नेबारे सत्ता साझेदार कांग्रेस र एमालेबीच एकमत हुन सकेको छैन । कांग्रेसले बीआरआईको रुपमा ऋण स्वीकार्न नसकिने जनाएको छ भने एमाले कार्यान्वयनमा जानुपर्ने पक्षमा छ ।
त्यसैले कांग्रेसको मतलाई समेत सम्बोधन गर्ने गरी साझा धारणा बनाउने प्रयास दुई दलका नेताहरु छलफलमा बसेका थिए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वसन्ध्यामा मुख्य सत्ता घटक कांग्रेसले उठाएका अन्य सवालसमेत सम्बोधन हुने गरी दुई दलले साझा धारणा बनाउन लागेका हुन् । दुई दलले तयार पारेको साझा मस्यौदालाई चीन पक्षले हुबहु स्वीकार गर्छ वा गर्दैन भन्नेमा औपचारिक रूपमा प्रस्ट प्रतिक्रिया आइसकेको छैन ।
तर नेपालमा भने उक्त विषयलाई लिएर सहमति गर्ने कसरत जारी छ । प्रधानमन्त्री ओलीकै सक्रियतामा कांग्रेसले उठाउँदै आएका सवाललाई सम्बोधन हुने गरी साझा मस्यौदा तयार गरिन लागिएको बुझिएको छ । अर्कोतर्फ ओलीले नै अनौपचारिक तहमा चिनियाँ पक्षसँग पनि समानान्तर छलफल गरिरहेका छन ।
दुई दलबीचको साझा धारणाका आधारमा चिनियाँ पक्षसँग छलफल गरेर सहमति जुटाउने जिम्मा भने प्रधानमन्त्री ओलीसँगै कांग्रेसको तर्फबाट परराष्ट्रमन्त्री राणालाई दिइएको छ । चिनियाँ पक्षले साझा मस्यौदा मानेमा प्रधानमन्त्री ओलीको यही मंसिर १७ देखि हुने ५ दिने चीन भ्रमणमा दुई पक्षबीच हस्ताक्षर हुने सम्भावना छ ।
अनौपचारिक रूपमा चीनसँगकै सहकार्यमा दस्ताबेजीकरण भइरहेको पनि बुझिएको छ । चीन सरकारले दिने सबै योजनालाई ‘बीआरआई फ्रेमवर्क’भित्रै राख्ने र त्यसअन्तर्गत अनुदानका परियोजना मात्रै स्वीकार गर्नेमा दुवै दल सहमत पनि भएका छन ।