१४ मंसिर, एजेन्सी।
विश्वले नेपालीहरुको क्रिकेटप्रतिको क्रेजलाई सरहाना गरिरहँदा र पछिल्लो समय विश्वकपदेखि एसियाकपमा नेपालले प्रदर्शन जारी राख्दा, साथै एनपिएलले देश नै क्रिकेटमय बन्दा यता फुटबलमा पनि नेपालले खुसी मनाउने मौका भेटेको छ ।
फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीवार जारी गरेको पुरुष फुटबलको वरियतामा नेपाल १७५ औं स्थानमा छ । नेपालले पछिल्लो पटक खेलेका दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एउटा जित र अर्कोमा हार बेहोरेको थियो ।
कात्तिकको अन्त्यमा ताजिकिस्तानसँग ४–० को हार बेहोरेको नेपालले मंसिरको सुरुमा अफगानिस्तानलाई २–० ले हराएको थियो । जिलेस्पीजंग कार्की र रोहित चन्दको गोलमा नेपाल विजयी भएको थियो ।
नेपालसँग पराजित भएको अफगानिस्तान भने ४ स्थान झरेर १५५ औं स्थानमा पुगेको छ । दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारतको दुई स्थान खस्किएको छ र १२७ औं स्थानमा छ । दक्षिण एसियाका माल्दिभ्स १६२ औं, भुटान १८२ औं, बंगालादेश १८५ औं , पाकिस्तान १९८ औं र श्रीलंका २०४ स्थानमा छ ।
फिफा वरियताको शीर्ष ५ यथावत छ । अर्जेन्टिना शीर्ष स्थानमा, फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंङग्ल्यान्ड चौथो र ब्राजिल पाँचौ स्थानमा छ । यस्तै पोर्चुगल छैटौं स्थानमा रहँदा नेदरल्याण्डस सातौं, बेल्जियम आठौं, इटाली नवौं र जर्मनी दशौं स्थानमा छन् ।