उन्मुक्ति पाएका कोशीका पूर्वमन्त्रीलाई फेरि पक्राउ गर्न सर्वोच्चमा रिट

१३ मंसिर ८१, शुक्रबार

१४ मंसिर, विराटनगर।

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा नचल्ने निर्णय बदर हुनुपर्ने र उनीमाथि फेरि अनुसन्धान गरी मुद्दा दायर गर्न निर्देशन दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

उनलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने उनको माग छ । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए ।

Advertisement

उनीसँगै जापान गएका खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए ।

पछि मन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।

Advertisement

तर अधिकारीलाई भने छाडेको थियो । चौतर्फी आलोचना बढेपछि एमालेले उनलाई कारबाही गर्यो यता प्रहरीले पनि अनुशन्धानका लागि भन्दै पक्राउ गर्यो । तर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि १० मंसिरमा हिरासतमुक्त गरिएको थियो ।

तर उनीसंगै नक्कली कागजात बनाएर गएकासहित अहिले ९ जना प्रहरीको हिरासतमा रहेका छन् । एकातर्फ सरकारको अनुमतिविना अधिकारी जापान उडेका थिए, अर्कातिर विचौलियाको योजनामा उनी संलग्न रहेपनि उनलाई चोख्याइएको भन्दै आलोचना भइरहेको छ ।

जबकी उनीमाथि अनुसन्धान गर्दै प्रहरीले मानव तस्करी, किर्ते र ठगी मुद्दा दायर गर्नुपर्ने राय दिएको थियो । तर, सरकार र महान्यायाधिवक्ता दबाबमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले अधिकारीलाई उन्मुक्ति दिने र अन्य ११ जनाविरुद्ध मात्र मुद्दा चलाउने निर्णय गरेपछि अधिकारी थुनामुक्त भइसकेका छन् ।

प्रहरी अनुसन्धानमा प्राप्त प्रमाणहरूलाई पूर्ण रूपमा नजरअन्दाज गरी अधिकारीलाई मुद्दा नचलाउने निर्णय प्रथम दृष्टिमै बदनीयतपूर्ण एवं स्वेच्छाचारी भएकोले संविधानको धारा १३३ (२) र (३) बमोजिम उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न त्रिपाठीले रिटमा माग गरेका छन् ।

उनले अधिकारीलाई तत्काल पक्राऊ गरी प्रभावकारी अभियोजन गर्नु भनी परमादेशसमेतको माग गरेका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध हो भन्ने कुरा एमाले नेता लीलाबल्लभ अधिकारीमाथि कानूनी कारवाही नभएको घटनाले थप पुष्टि गरेको दाबी गरेको थियो ।

प्रवक्ता मनिष झाले भनेका थिए, ‘हामीमाथि राजनीतिक प्रतिशोध हो भन्ने कुरा हामीले अब प्रमाणित गर्नै नपर्ने भइसक्यो । त्यसको आधार हामीले दिइराख्नै पर्दैन । लीलाबल्लभ अधिकारीलाई कानूनी कारवाही नहुने, मुद्दा पनि दायर नहुने भन्ने कुराले प्रमाणित गरिसक्यो । तर, पनि हामी अदालतलाई सम्मान गर्छौँ ।’

यस्तै माओवादीले समेत अधिकारीमाथि मुद्दा नचलाउने निर्णयको विरोध गरेको थियो । मानव तस्करी आरोपमा पक्राउ परेका अधिकारीलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाएकामा माओवादीले आपत्ति जनाएको छ ।

माओवादी पदाधिकारीको बुधबार बसेको बैठकले सरकारले मानव तस्करीको गम्भीर आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई एमाले भएकै कारण उन्मुक्ति दिएको निष्कर्ष निकालेको हो । ‘कोशी प्रदेशका पूर्वमन्त्री (अधिकारी) लाई उन्मुक्ति दिएर सरकारले निकटलाई जोगाउने काम ग¥यो,’ माओवादी उपमहासचिव वर्षमान पुनले भने, ‘यस्तो कार्य आपत्तिजनक छ । यो आफ्नालाई जोगाउने र विपक्षीलाई फसाउने नीति हो ।’

पूर्वमन्त्री अधिकारीसँग जापान पुगेर फर्काइएका ३ युवासहित ११ जनाविरुद्ध भने सोमबार मुद्दा दायर गरिएको छ  । प्रहरीले अधिकारीसहित १२ जनाविरुद्ध किर्ते र मानव तस्करीमा मुद्दा चलाउन आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर, सरकारको दबाबमा अधिकारीलाई उन्मुक्ति दिएको माओवादीको आरोप छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top