Nepal Times
Nepal Times
3
Shares

यो सिजनमा पहिलोपल्ट बार्सिलोना घरमै स्तब्ध

यो सिजनमा पहिलोपल्ट बार्सिलोना घरमै स्तब्ध

१६ मंसिर , एजेन्सी ।
बार्सिलोना स्पेनिस ला लिगामा सिजनमा पहिलो पटक घरेलु मैदानमा पराजित भएको छ । शनिबार राति भएको खेलमा लास पाल्मासले बार्सिलोनामाथि २–१ को जित हासिल गरेको हो । पाल्मासले बार्सिलोनामा ५० वर्षपछि जित हासिल गरेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा पाहुना टोलीका लागि सान्ड्रो रामिरेज र फाबियो सिल्भाले गोल गरे । बार्सिलोनाका लागि राफिन्हाले सान्त्वना गोल फर्काए । खेलको ४९औं मिनेटमा रामिरेजको गोलमा पाहुना टोलीले अग्रता लिएको थियो ।

६१औं मिनेटमा बार्सिलोनाका राफिन्हाले बराबरी गोल फर्काए । त्यसको छ मिनेट पछि नै पाल्मसका लागि फाबियोले गोल गर्दै टोलीलाई एतिहासिक जित दिलाए । जितसँगै पाल्मास १५ खेलमा १५ अंकका साथ १४औं स्थानमा छ ।

समान खेलबाट ३४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । दोस्रो स्थानको एथलेटिको मड्रिड भन्दा बार्सिलोना २ अंकले अघि रहेको छ । एथलेटिकोको १५ खेलबाट ३२ अंक रहेको छ । यता ओलम्पिक स्टेडियममा वेस्ट ह्यामलाई शनिबार ५–२ ले पराजित गर्दै आर्सनल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

आर्सनलको जितमा बुकायो साका, ग्याब्रियल, लियान्ड्रो ट्रोसार्ड, मार्टिन ओडेगार्ड र काई हाभर्ट्जले गोल गरे । यो आर्सनलको यस सिजनको सबैभन्दा प्रभावशाली लिग जित हो । कप्तान मार्टिन ओडेगार्ड दुई महिनापछि चोटबाट फर्किएपछि टोलीले पछिल्ला खेलहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

अन्तर्राष्ट्रिय ब्रेकपछि आर्सनलले नटिङ्घम फरेस्टलाई ३–०, च्याम्पियन्स लिगमा स्पोर्टिङ लिस्बनलाई ५–१ र वेस्ट ह्यामलाई ५–२ ले पराजित गरेको छ । बुकायो साकाले यस सिजनका १३ खेलमा १० असिस्ट र पाँच गोल गरिसकेका छन् ।

खेलपछि साकाले भने, ‘म जितबाट सबैभन्दा ठूलो आनन्द लिन्छु । हामीले पछिल्ला तीन खेलमा हाम्रो वास्तविक क्षमता देखाएका छौं।’यो जितसँगै आर्सनलले लिभरपुलसँगको अंक दूरी घटाएको छ ।

आर्सनलको अर्को खेल आइतबार म्यानचेस्टर सिटीविरुद्ध घरेलु मैदानमा हुनेछ, जसमा टोलीले लगातार दुई सिजनको हारको बदला लिने प्रयास गर्नेछ । शनिबारका अन्य खेलमा नटिङघम फरेस्टले इपस्विच टाउनलाई १–०, ब्रेन्टफोर्डले लेस्टर सिटीलाई ४–१ र बर्नमाउथले उल्भ्सलाई ४–२ ले पराजित गर्यो ।

क्रिस्टल प्यालेस र न्युकासल युनाइटेडले १–१ को बराबरी खेले । तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुल र साविक विजेता म्यानचेस्टर सिटीबीच आज प्रतिस्पर्धा हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.