१७ मंसिर , काठमाण्डौ ।
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुआत गरेको छ । बलरमैत्री पिचमा रन बटुल्न संघर्ष गर्दै चितवनले सोमबार काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको हो । काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा पाँच विकेट गुमाउँदै ११४ रन बनायो।
चितवनले पनि सुरुआत राम्रो गर्न सकेको थिएन । तर, मध्यक्रमका सन्तोष कार्की र शरद भेष्वाकरले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरेपछि चितवनले जितसहित प्रतियोगिता सुरुआत गर्न सफल भयो ।
३१ बल खेलेका सन्तोषले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । उनले दुई चौका र एक छक्का प्रहार गरे। शरद ११ रनमा अविजित रहे । पहिलो पावर प्लमै चितवनले दुई ओपनर गुमायो । हसन इसाखिल १२, दीपक बोहरा सात रनमा पभिलियन फर्किएपछि चितवन दबाबमा परेको थियो ।
तर, लुक बेन्केनस्टाइनको २२ रनसँगै चितवन खेलमा फर्किन सफल भयो । १७ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे। उनी आउट भएलगत्तै कप्तान कुशल मल्ल र रवि बोपारा समान ११ रनमा क्याच आउट भए ।
काठमाडौंका शाहब आलमले सर्वाधिक तीन विकेट लिएपनि जितका लागि पर्याप्त बने। चार ओभर बलिङ गरेका उनले २० रन मात्रै दिए । ग्रेहार्ड इरास्मत र डन डाउथवेटले समान एक विकेट आफ्नो नाममा लेखाए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर काठमाडौंले ब्याटिङ थालेको थियो ।
तर, ३९ वर्षीय पाकिस्तानी बलर सोहेल तन्विरको अगाडी काठमाडौंको ब्याटिङ अर्डर पुरै ध्वस्त भयो । माइकल लेभिटले २५ र सुमित महर्जनले २७ रनको योगदान दिए। त्यसपछि मात्रै काठमाडौंले निर्धारित २० ओभर नौ विकेट गुमाएर स्कोर्ड बोर्डमा १११ रन पु¥याउन सक्यो ।
तन्विरसामू काठमाडौंका ब्याटरले खुलेर खेल्न सकेनन्। उनले पावर प्लेमै स्टेफन इन्कान्जीलाई दुई र लेभिटलाई २५ रनमा पभिलियन फर्काए। त्यसपछि भीम सार्की पनि उनकै बलमा एक रनमा क्रिजबाट बाहिरिए ।
लगातार विकेट गुमिरहेको अवस्थामा सुमितले काठमाडौंको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, मध्यक्रमका शंकर राना र राशिद खानले उनलाई साथ दिन सकेनन् । ४१ बल खेलेका सुमित एक चौकासहित २९ रन बनाएर पभिलियन फर्किए।
शंकरले १६ र राशिदले चार रनको योगदान दिए । तर, तल्लो क्रमका कप्तान करण केसी र शाहब आलम समान एक रनमा क्याच आउट भए। डन डाउथवेटले टिकेर १९ रन जोड्दिए । चितवनका तन्विरले चार ओभरमा २१ रन खर्चिँदै सर्वाधिक पाँच विकेट लिए।
रिजन ढकाल, कुशल मल्ल, अमर रौटेला र लुक बेन्केनस्टाइनको नाममा समान एक विकेट रह्यो । शनिवारबाट सुरु लिगमा आज दुई खेल हुदैछ । आज हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।
कर्णाली र जनकपुरबीचको खेल अहिले दिउँसो १ः१५ बजे सुरु हुँदैछ । टस जितेको कर्णालीले पहिला ब्याटिङ गर्दैछ । पहिलो खेलमा विराटनगरमाथि ८ विकेटको सहज जित हासिल गरेको जनकपुरले जितको निरन्तरताको लागि प्रयास गर्नेछ ।
उता, एनपिएलकै ठूलो नाम मध्येका एक शिखर धवनलाई अनुबन्ध गरेको कर्णाली पनि जितबाट सुरुवात गर्न चाहन्छ । जनकपुर अनिल शाहको र कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।