कतार एयरवेजको भैरहवा उडान बन्द, भेटिएनन् यात्रु

१७ मंसिर ८१, मंगलबार

१८ सांसर , काठमाण्डौ ।

Advertisement

कतार एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको उडान बन्द गरेको छ । कतारले २७ कात्तिकदेखि १५ मंसिरसम्मका लागि मात्र भैरहवा उडान गर्ने अनुमति लिएको थियो । २३ कात्तिकदेखि काठमाडौंमा आधा उडान कटौती भएपछि कतारले भैरहवामा दैनिक एउटा ‘टचडाउन फ्लाइट’ गर्दै आएको थियो ।

कतारले वाइडबडी एयरबस ३३० विमानबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गरेको थियो । आइतबारदेखि भने कतारको भैरहवा उडान बन्द भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।

Advertisement

कतारको सेवा बन्द भएपछि भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा चारमा झरेका छन । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले १५ मंसिरपछि पनि भैरहवा उडानका लागि प्रस्ताव पेस गर्न कतार एयरवेजलाई पत्राचार गरेको थियो ।

तर, कतारले भैरहवा उडानका लागि प्रस्ताव पेस नगरेको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । कतारले छलफल गरेर जानकारी पठाउने जवाफ फर्काएको उनको भनाइ छ । कतारको भैरहवा उडान फेरि अनिश्चित बनेको छ ।

Advertisement

कतारले काठमाडौंमा दैनिक चारवटा उडान गर्दै आएको थियो । दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) त्रिभुवन विमानस्थल बन्द गरेर स्तरोन्नतिका काम सुरु गरेपछि कतारका दुईवटा उडान कटौती भएका थिए ।

आधा उडान कटौती भएपछि कतारले एउटा उडान भैरहवालाई टच गरेर काठमाडौंमा गर्दै आएको थियो । अहिलेसम्म कतारले भैरहवामा ३८ वटा उडान–अवतरण गरेको छ । जसमार्फत ९३ जना यात्रु मात्र भैरहवा झरेका छन् भने १२ सय तीन यात्रु दोहाबाट भैरहवा ट्रान्जिट भएर काठमाडौं झरेका छन ।

यसबीचमा दोहा जानका लागि भैरहवाबाट एकजना पनि यात्रु नचढेको भैरहवा विमानस्थलको तथ्यांकले देखाएको छ । भैरहवामा अहिले एयर एसिया, फ्लाई दुबई, जजिरा एयरवेज र नेपाल वायुसेवा निगमले मात्र नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

निर्माण सम्पन्न भएको लामो समयसम्म पनि संचालनमा आउन नसकेको विमानस्थलमा पछिल्लो समय मात्रै अन्तराष्ट्रिय उडान सुचारु भएपनि यात्रुकै अभावमा संचालनमा रहेका अन्य वायुसेवाको उडान समेत निरन्तर रहनेमा शंका उत्पन्न भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top