२० मंसिर, एजेन्सी ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातारको हारको शृंखला तोडेको छ । लिगमा दसौं खेलदेखि लगातार पराजित भएको सिटीले गएराति नटिंघम फरेस्टमाथि तीन गोल गर्दै हारको शृंखला तोडेको हो ।
इतिहाड स्टेडियममा बर्नार्डो शिल्भा, केभिन डि ब्रुयन र जेरेमी डोकुले गोल गर्दा सिटीले ३–० ले विजयी भएको हो । खेलको आठौं मिनेटमै सिल्भाको गोलमा सिटीले अग्रता लिएको थियो । डि ब्रुयनले ३१ मिनेटमा अग्रता दोब्बर पारे ।
५७ मिनेटमा डोकुले गरेको गोल निर्णायक बन्यो । लिगको साविक विजेता सिटीले खस्किँदो लय सुधारेको हो या होइन भन्नका लागि आगामी खेलबाट आकलन गर्न सकिन्छ । लिगको दसौं खेलमा बर्नमाउथसँग पराजित भएयताका सिटीले ब्राइटन, टोटनहम र लिभरपुलसँगको खेलमा हार ब्यहोरेको छ ।
यद्यपि गएरातिको जितले सिटीलाई ठूलो राहत र उत्साह थपेको छ । लगातार चार खेलमा पराजित भोगेको सिटी शीर्ष स्थानबाट अहिले चौथोमा पुगेको छ । उसको २६ अंक छ । चेल्सी र आर्सनल २८ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ ।
लिभरपुल ३५ अंकसहित शीर्ष स्थानमा छ । यस्तै लण्डन क्लबहरु आर्सनल र चेल्सीले पनि जित निकालेका छन् । आर्सनलले म्यानचेस्टर युनाईटेड र चेल्सीले साउथह्याम्टनलाई निराश बनाएका हुन् ।
आर्सनलले घरेलु मैदानमा युनाईटेडलाई २–० ले हरायो । आर्सनलले कर्नरबाट प्राप्त बलमा दुई गोल निकाल्दा नयाँ प्रशिक्षक रुबिन एमोरिमले ईङ्लिस फुटबलमा पहिलो हार चाखे । डिक्लन राइसले ५४ औं मिनेटमा दिलाएको अग्रतामा थोमस प्याटिले दोस्रो गोल थपे ।
अर्को खेलमा साउथह्याम्टनको मैदानमा चेल्सीले ५–१ को प्रभावशाली जित रच्यो । जाडोन सान्चोले चेल्सीका लागि पहिलो गोल गर्दै लण्डन क्लबले प्रभावशाली जित निकालेको हो । चेल्सीको जितमा एक्सल डिसासी, क्रिस्टोफर नन्कुन्कु, नोनी मडुके र कोल पामरले एक एक गोल गरको थिए ।
जो एरिबोले घरेलु टोलीका लागि एक गोल फर्काएका थिए । अर्को खेलमा लिभरपुलले न्युक्यासलसँग ३–३ गोलको रोमाञ्चक बराबरी खेल्यो । मोहमद सलाहले दुई गोल गरेको खेलमा लिभरपुलले ३ अंक जोगाउन सकेन ।